गौतमबुद्ध विमानस्थल स्तरोन्नतीको काम मंगलबारदेखि सूचारु भएको छ ।
सोमबार स्थानीयवासीसँगको छलफलपछी मंगलबारदेखि काम सूचारु गरिएको गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । आयोजनाले मुआब्जा वितरणमा लापरवाही गरेको भन्दै स्थानीयवासीले सोमबार काममा अवरोध पुर्याएका थिए । क्रम संख्याका आधारमा मुआब्जा वितरण नगरी पहुँचको आधारमा गरेको भन्दै स्थानीयबासीले विमानस्थलको गेटमा ताला बन्द गरेका हुन् । जसले गर्दा गर्दा रनवेको काम रोकिएको थियो ।
अहिले आयोजना र स्थानीयबीचको छलफलपछी काम सूचारु गरिएको हो । ‘कतिपय जमिनको बाटो कट्टा गर्नुपर्ने भएकोले समय लागेको हाे’ आयोजना प्रमुख शर्माले भने, ‘त्यही कुरा स्थानीयलाई बुझाइसकेका छौं ।’ साथै पहुँचका आधारमा कसैलाई पनि मुआब्जा नदिइएको उनले दाबी गरे । ‘हामीले स्थानीय निकायले कसैलाई छिटो मुआब्जा दिनुपर्ने सिफारिस पठाएको अवस्थामा अध्ययन गरेर मात्र दिएका छौं, त्यो पारदर्शी नै छ,’ उनले भने । शर्माका अनुसार हालसम्म ४ सय परिवारलाई साढे ३ अर्ब रुपैयाँ बराबरको मुआब्जा बितरण गरिसकेको छ ।
