रामेछाप । कार्यकाल सकिन केहि महिना मात्र बाँकी रहेको बेला रामेछापको रामेछाप नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रेखवहादुर खत्रीले वडाअध्यक्ष पदबाट राजीनामा गरेका छन् । उनले नगरप्रमुखलाई संवोधन गरेर बुधबार राजीनामा बुझाएका हुन् । राजीनामा आजैका मिति देखि स्वीकृत गरिदिन उनले अनुरोध गरेका छन् ।

राजीनामा दिनु पछाडिको कारणमा खत्रीले खुलाएका छन् – पछिल्लो समय नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रकृया र वडालाई हेर्ने व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिको रुपमा प्रभावकारी ढंगले काम गर्ने वतावरण असहज बन्दै गएको महशुस गरेको छु ।

वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राखी अघी बढ्नुपर्ने अवस्थामा कतिपय विषयमा अल्पमत र बहुमतको अधारमा व्यवहार हुने र वडा नम्बर १ का जायज माग तथा आवश्यकताहरुलाई अपेक्षित प्राथमिकता नदिने र विकास तथा जनसरोकारका विषयमा समेत समान दृष्टिकोण हुन नसकेको अवस्था रहेको अनुभव पनि खत्रीले राजीनामा पत्रमा खुलाएका छन् ।

दुई पृष्ठ लामो राजीनामा पत्रमा जनतासमक्ष गरिएका कतिपय प्रतितवद्धतता तथा अपेक्षा अनुसारका कामहरु कार्यान्वयनमा आउन नसक्दा वडाबासीको अपेक्षा पुरा गर्न निर्वाचित वडा अध्यक्षका रुपमा मैले थप कठिनाई भोग्नु परेको उल्लेख गर्दै खत्रीले लेखेका छन् – जनताको उचित माग र वडाको हित भन्दा व्यक्तिगत असहमति पूर्वाग्रह वा आन्तरिक मतभेदले प्राथमिकता पाएको अनुभूति हुने गरी निर्णय तथा व्यवहार हुनु लोकतान्त्रिक स्थानीय शासनको मर्म अनुकुल नभएको मेरो बुझाई रहेको छ ।

राजीनामामा व्यक्ति विशेषप्रति आरोप लगाउने वा व्यक्तिगत असुन्तुष्टि व्यक्ति गर्ने उद्धेश्यले राजीनामा प्रश्तुत नगरिएको तर जनताको पक्षमा प्रभावकारी रुपमा काम गर्न आवश्यक वातावरण, सहकार्य , समान व्यवहार र संस्थागत समन्वय कायम हुन नसकेको अवस्थामा पदमा निरन्तर रहीरहनु स्वयं वडाबासीप्रतिको जिम्मेवारी संग न्याय नहुने निष्कर्षमा पुगेको कुरा उल्लेख गरिएको छ ।

रामेछाप नगरपालिकामा प्रमुख उप प्रमुख सहित नौ मध्ये ७ वटा वडा नेपाली काँग्रेसले जितेको थियो । खत्री नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । विगत लामो समय देखि खत्री र नगर प्रमुख लबश्री न्यौपानेका विच राम्रो सम्बन्ध नभएको खत्रीले बारम्बार सामाजिक सञ्जालमा व्यक्त गर्दै आएका थिए ।

बुधबार मध्यान्ह तिर सामाजिक सञ्जाल फेसबुकमा समेत राजीनामा पत्र साझा गरेका खत्रीलाई नेपाली काँग्रेसका कार्यकर्ता र सुभेच्छुकहरुले राजीनामाको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । हतारमा निर्णय नलिन र समस्या भए फुकाउनका लागि उनलाई आग्रह गरिएका प्रतिक्रियाहरु थपिने क्रम जारी रहेको छ ।