रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतारिनु र मुरली र बाँसुरीमा मिठो धुन बजाउदै ग्राहकलाई आकर्षित गर्नुमा उनको चोला वित्न थाल्यो ।
मुरली र बाँसुरी बिक्री गर्नु उनको व्यवसाय भएपनि संगीतको मिठो धुन बजाएर उनले मानिसहरुलाई लठ्ठै बनाईदिन्छन् र खुसीले दिएको पैसा लिएर सन्तोष मान्छन् । मुरली बजाएर विभिन्न नेपाली धुनहरुले मानिसहरुलाई मनोरञ्जन दिन सक्ने अली ६५ बर्षका पुगे । ‘अव कति सकिएला र पहाड तिरको व्यापार गर्न ? ’ अलीले उमेरले नेटो काट्न थालेको सम्झिए ।
सर्लाही मलगंवा ७ का अली लहै लहैमा मुरली र बाँसुरी विक्री गर्न थालेका थिए । बाबु सामान्य किसान थिए । अर्काको जमिन बटैया कमाउने परिवारमा अलीले यो पेशा कसरी छाने ? अहिले उनैलाई थाहा छैन् । ‘ ख्यै आफै आफ यसमा रमाए ’ अली भन्छन् – जव मुरली र बाँसुरी बजाउन जाने त्यसबेला त पेशा बन्न पुगिहाल्यो ।
सर्लाहीको मलगंवा देखि उनको धुनको यात्रा रामेछापका बजार केन्द्रहरुमा आईपुग्छ, अनि फेरी उहिँ फर्कन्छ । रामेछापको मन्थली उनलाई सबैभन्दा धेरै मनपर्ने थलो हो । किनकी उनको सबैभन्दा राम्रो व्यापार मन्थलीमानै हुने गरेको छ । खिम्ती, धोवि, साँघुटार, रामेछाप जस्ता हाट बजारमा मुरलीको धुन बजाउदै बालबालिकाहरुलाई झुम्याउने उनी रामेछापको मन्थलीलाई दोश्रो घर जस्तो मान्छन् । मन्थलीमै उनले मुरली र बाँसुरीको व्यापार गर्न थालेको २८ बर्ष भईसकेको छ ।
बर्दीबास, सिन्धुली, मरिणखोला क्षेत्र, लालबन्दी, हरिवन, नयाँबजार जस्ता क्षेत्रमा पनि मुरली र बाँसुरी बजाउदै पुग्छन् अली । मुरली र बाँसुरी विक्री गर्दै रामेछाप आउदा बाटोमा पर्ने सबै बजारमा उनको केहि समय वित्छ । फर्कदा पनि त्यहि क्रम चल्छ । तर धेरै अडिने थलो भनेको मन्थलीनै हो ।

अलीका परिवारका अरु सदस्यले बाँसुरी र मुरली बनाउन र बजाउन जान्दैनथे । अली फरक निस्कीए । कसैले नगरेको पेसा उनले रोजे । गाउँमा पाईने बाँसलाई आफैले फलाम तताउदै प्याल पार्ने र फुक्ने मुख निर विषेश ठेडि हालेर बज्ने बनाउन उनलाई धेरै समय लाग्दैन् । ‘म आफैं सबै बनाईहाल्छु ’ अलि भन्छन् – त्यस्तो केहि गाह्रो छैन् । नभ्याएको बेलामा उनी बजारको पनि किन्ने गर्छन् । किनेको सामान बिक्री गर्दा धेरै नाफा मिल्दैन्, त्यसैले अली आफैले मुरली र बाँसुरीको आकार दिनमा जोड दिन्छन् ।
प्रतिगोटो १ सय रुपैयाँ पर्ने मुरली र बाँसुरी दिनमै १०–२० वटा विक्री गर्ने उनी महिनाको सबै खर्च कटाएर १२–१४ हजार कमाउछन् । मन्थलीको हाटेचौरमा उनका छोराले घुम्ति पसल गर्छन् । जिल्लाका अरु हाट बजार पनि त्यो घुम्ती पसल पुग्छ । ‘बुहारी र नातीनातिना यतै बस्छन् ’ अलि भन्छन् – विहानै मुरली बजाउदै निस्कन्छु, खाना खान एकैछिन डेरामा पुगेर फेरी बजारमा आईहाल्छु ।
दशैं तिहारका लागि अहिले करिव ४ सय वटा मुरली र बाँसुरी लिएर अली आजभोली रामेछाप भित्रीएका छन् । त्यस मध्ये केहि विक्री भईसक्यो । तिहार ताका उनी तराई झर्ने सुरसारमा छन् । झण्डै तीन महिनामा उनी घर फिर्ति हुन्छन् । १ विगाहा जग्गा अर्काको कमाएको छ, त्यसको हेरविचार गर्छन्, बाँस काट्छन् , मुरली र बाँसुरी खोप्छन् अनि झोलामा हालेर फेरी बजाउदै र विक्री गर्दै रामेछाप तिर उकालिन्छन् ।
