रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालीको हलुवामा पर्ने ऐतिहासिक र पुरातात्विक महत्वको महाकाली भगवतिको मन्दिर पछिल्ला बर्षहरुमा उपेक्षामा परेको छ । साक्षात देविको रुपमा सदियौं बर्ष अघी देखि स्थानीयले पुज्दै आएको उक्त मन्दिरमा हाल नियमित पुजाआजा रोकिएको छ । मन्दिरमा चढाइएका घण्ट देखि अनेकौ पुरातात्विक महत्वका सामाग्रिको संरक्षण समेत हुन सकेको छैन् ।

हलुवाको महाकाली भगवतिको मन्दिर विक्रम सम्बत १७६० साल ताका स्थापना भएको किंबदन्ति पाईन्छ । उक्त ऐतिहासिक मन्दिरमा पहिले हरेक शनिबार र मंगलबार विधि पूर्वक पूजाआजा र पाठीको बली दिने चलन थियो । घिमिरे बंशहरु विभिन्न स्थानमा बसाई सर्दै जादाँ २०४५ साल देखि बलि र भाकल पुजा रोकिएको छ । बलीपूजा रोकिएपछि पनि मन्दिरमा स्थानीय प्रेमकुमार केसी (घिमिरे) को परिवारले नियमित पुजा गर्ने गरेको थियो । उनको परिवार काठमाडांै तिर बसोवास गर्न थालेपछि उक्त मन्दिरमा नियमित पुजा समेत बन्द भएको छ । घिमिरे परिवारले बेतालीको पूर्खौली घर पुगेका बेलामा मन्दिरको सरसफाई र नरिवल पुजा आज भने अझै गर्ने गरेका छन् ।

मन्दिरको बारेमा किंबदन्ति खोज गरेका स्थानीय बासिन्दा तथा पूर्व शिक्षक समेत रहेका केसी (घिमिरे) का अनुसार उनको १० औं अघीका पुर्खाका विसं पाध्या नाम गरेका घिमिरेले गाई चराउने क्रममा उक्त शक्तिपिठ पत्ता लागेको हो । गोठबाट जंगल चराउन लगेका गाईहरु मध्ये एउटा गाई जंगलमा हराएको र देविले राति विसंलाई सपनामा हराएको गाई कहि नगएको लहराले अल्झाएर राखेकोले त्यहा पुगेर गाई घर लैजान र त्यस स्थानलाई सफासुग्गर गरी मेरो पुजाआज गर्नु भनेर भनेको र भोलीपल्ट त्यस स्थानमा पुग्दा गाई लहरामा अल्झिएको भेटिएपछि गाई निकालेर गोठ पठाएको अनि देविको स्थान बनाई पुजाआजा चलाउन थालेको पाईन्छ ।

त्यसबेलामा उक्त स्थानमा ठुलो जंगल रहेको, विसाल पहरा मुनि रहेको २५ मिटर लामो र १२ मिटर चौडा ढुंगा फुटाई देविको उत्पति भएको किंवदन्ति छ । विसं पाध्याले उक्त सपना पछि थान बनाई पुजाआजको चलन चलाएपछि उनैका तेश्रो पुस्ता पुनै पाध्याले महाकाली देविको मन्दिर निर्माण गरी वरिपरी पर्खाल लगाएकोे, घण्टा त्रिसुल चढाएको ईतिहास पाईन्छ ।

किंवदन्ति अनुसार तिर्थस्थल भन्दा उत्तर जटापोखरीबाट उत्पत्ति भएको गोकुलगंगा ( खिम्ती ) मा महाकाली भगवति हरेक दिन विहान स्थान गर्न जाने क्रममा मानिसले बाटोमा भेटेर बाधा पुर्याएकोले बाहिरको बाटो छोडेर मन्दिरबाट खिम्ती सम्म जमिन मुनिबाटै बाटो बनाई सिंहमा चढेर आउदा जादा सिंहले लगाएको घण्टीको आवाज सुनेने गरेको थियो । देवि नुहाउनका लागि जाने आउने विश्वास गरिएको उक्त प्वाल अझै रहेको र सो प्वालमा ढुंगा खसाल्दा अनौठो आवाज आउने गर्छ ।

खोजकर्ता प्रेमकुमार केसी (घिमिरे) का अनुसार हलुवाको महाकाली मन्दिरमा टाढा टाढा बाट भक्तजनहरु आई पाठ पुजा गर्ने र आफुलाई परेको पिरमर्का हटाउन माग गर्ने गर्थे । मागेको कुरा पुरा गर्ने साक्षात देविको रुपमा उक्त भगवतिलाई विश्वास गर्ने गरिएको छ ।

मन्दिर जिर्ण बनेको, चढाएका घण्टा र त्रिशूलहरु हराउदै गएकाले स्थानीय बासिन्दाहरुले उक्त मन्दिरको संरक्षण गर्नुपर्नेमा चासो दिएका छन् । मन्दिरमा चढाएका ति सामाग्रीहरुमा उल्लेख गरिएका मितिका आधारमा मन्दिर पुरातात्विक महत्वको भएकाले त्यसको संरक्षण र विकासका लागि पुरातत्व विभागलाई अनुरोध गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।