रामेछाप । वस्ती भन्दा माथि बाट भोटेकोशीमा आएको प्रलयकारी बाढीले खर्बौको क्षति पुगेको र हजारौंको ज्यान गएको घटनापछि मानव वस्ती भन्दा माथि ठुला र विपद ल्याउन सक्ने कृतिम जलासय युक्त आयोजनाको निर्माण रोक्नु पर्ने दवाव रामेछापमा बढ्न थालेको छ ।

तीन दशक देखि जहिल्यै च्छोरोल्पाको जोखिम भन्दै त्रासमा बाँचेका रामेछापबासीलाई पछिल्लो पटक छिमेकी जिल्ला दोलखामा जिरी तालको निर्माण हुने कुराले सताउन थालेको छ । जिरीमा निर्माण हुने प्रकृयामा रहेको कृतिम तालको संरचना निर्माण रोक्नु पर्ने पनि उनीहरुले माग गरेका छन् ।

‘मानव सभ्यतानै संकटमा पार्न सक्ने ठुला र मानव निर्मित संरचना अव वस्ती भन्दा माथिल्लो क्षेत्रमा निर्माण गरिनु हुदैन् ’ नेपाली काँग्रेस रामेछापका उप सभापति लेखवहादुर कार्कीले भने – जिरी ताल भोलीका दिनमा बाढीजन्य विपद निम्त्याउन सक्ने मानव निर्मित संरचना हुने भएकाले उक्त योजनाको बाँकी प्रकृया तत्काल खारेज गर्नुपर्छ ।

दोलखाको जिरी नगरपालिकामा लाखौं घनमिटर पानी जम्मा हुने गरी ताल निर्माण गर्ने र त्यसमा जलविहार तथा अन्य सौन्दर्यकरण गरी पर्यटन प्रर्बद्धन गर्ने उद्धेश्यले बागमति प्रदेश सरकारले केहि बर्ष अघी देखि जिरी ताल निर्माणको महत्वाकांक्षि योजना अघी बढाएको छ । जुन योजनालाई प्रदेश सरकारले गौरवको योजना भनेको छ । मानव निर्मित धेरै ठुलो जलासयले पर्यटन व्यवसाय प्रबद्र्धन गर्न मद्धत पुग्ने भएपनि विपदका हिसावले त्यस भन्दा तलको तटिय क्षेत्रमा बसोवास गर्नेहरुका लागि सधैं जोखिम हुन सक्ने बताउदै नेकपा एमालेका उपाध्यक्ष होतराज ढकाल भन्छन् – टाउको माथिको जाँतो राखेर बस्ने कुरा राम्रो होईन् । ‘एउटा पक्ष लाई सुविधा र रमाईलो हुदाँ अर्को पक्ष दुखि हुने र क्षति बेहोर्नुपर्ने खालका योजनालाई प्रोत्साहन गरिनु हुदैनन् ’ उनले भने ।

बागमति प्रदेशसभा सदस्य तथा नेकपाका नेता तारानारायण श्रेष्ठले जिरी तालको विषयमा आफुलाई त्यति धेरै जानकारीमा नभएको वताए । उनले संसारमा मानव निर्मित धेरै ठुला जलासययुक्त आयोजनाहरु रहेको वताउदै निर्माणको कुरा महत्वपूर्ण हुने वताए । प्राविधिकले यो फुट्दैन् भनेर ग्यारेण्टी गर्दा संरचना निर्माणका लागि बाधक बन्नु भन्दा पनि गुणस्तरिय निर्माणमा जोड दिनु पर्नेमा जोड दिए । ‘नराम्रो संरचना निर्माण गर्दा अवश्य क्षति पुग्छ’ श्रेष्ठले भने – त्यसको पूर्ण ग्यारेण्टी प्राविधिक पक्षले जिम्मा लिनुपर्छ ।

जिरी नगरपालिकाले अघी सारेको उक्त महत्वाकांक्षि योजना अनुसार जिरी नगरपालिकाको ४ र ६ नम्बर वडाको विचमा झण्डै ३८ मिटर बाँध बाँधेर स्थानीय ४ वटा खोलाको पानीलाई तालमा संकलन गरिनेछ । उक्त पानी झण्डै ७ सय रोपनी क्षेत्रफलमा जम्मा हुनेछ । पानी करिव १ लाख ५२ हजार ८ सय ४७ बर्गमिटरमा फैलिने भएकाले उक्त ताल भूकम्प, निर्माणको कमजोरी या अन्य भू धरातलिय कारणले फुटेमा त्यसले भोटेकोशीले निम्त्याएको जस्तै तल्लो तटिए क्षेत्रमा ठुलो जनधनको क्षति पुग्ने अनुमान स्थानीयको छ । यद्यपी यसले कति टाढा सम्मको वस्तीमा विपतजन्य घटना निम्तिन सक्ने कुराको वातावरणीय अध्ययन प्रतिवेदन भने सार्वजनिक हुन सकेको छैन ।

प्राविधिकले तयार गरेको जिरी तालको विस्तृत परियोजना प्रश्ताव बमोजिम करिव १ हजार ६ मिटर लम्बाई र करिव २ सय मिटर चौडाई क्षेत्रमा ताल फैलनेछ । उक्त ताल निर्माणका लागि ३ अर्ब १७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जुन केहि बर्ष अघीको दर रेटको आधारमा हो । निर्माणको चरणमा लागत अझै बढ्न सक्ने वताइएको छ ।

जिरीलाई नेपालको स्वीटजरल्याण्ड समेत भन्ने गरिन्छ । सगरमाथाको प्रवेशद्धारको रुपमा धेरै पर्यटकिय व्यवसायमा चिनीएको जिरी हाल सुनसान जस्तै छ । त्यसैले जिरीको महत्व फेरी झल्काउनका लागि जिरी विमानस्थल भन्दा दक्षिण तर्फ मानव निर्मित ताल बनाउने र त्यसमा पर्यटकलाई आकर्षित गर्ने योजना अघी सारिएको हो ।

जिरी नगरपालिकाका निबर्तमान नगर प्रमुख टंक जिरेलका अनुसार हाल ताल निर्माणको कुरा धेरै अघी बढेको अवस्था छैन् । जग्गा अधिग्रहण र वातावरणीय अध्ययनमा अल्झिएको अवस्था छ । ‘त्यो ताल निर्माणको कुरा त हो तर बन्ला जस्तो स्थिति छैन्’ जिरेलले भने । उनले यसअघी प्रदेश सरकारले बिनीयोजन गरेको रकम समेत खर्च हुन नसकेको वताए ।

आर्थिक बर्ष २०७७। ७८ देखि चर्चा सुरु भएको उक्त ताल निर्माणका लागि प्रदेश सरकारले पहिलो बर्ष १५ करोड र दोश्रो बर्ष ३ करोड रुपैयाँ बिनीेयोजन गरेको थियो । उक्त रकम फ्रिज भएको छ । तर स्थानीय बासिन्दा र व्यवसायीले भने जिरी ताल तत्काल निर्माण हुनुपर्ने भन्दै दवाव दिन छोडेका छैनन् ।