जगन्नाथ शर्मा
रामेछाप – दिनभरी चर्किएको घाम डुब्न लागेको बेला मलिन थियो । रामेछापको लिखु तामाकोशी ५ नागदहमा पर्ने गिदानेचौरबाट देखिने टाढा पश्चिमतिरका डाडाँहरुमा सुनौलो रंग पोतिएको परिदृष्य लोभलाग्दो थियो । त्यतिबेला महाभारतको टाकुराबाट घाम पारितिर छलिदै थियो ।
आहा । गिदानेचौर साच्चीकै स्वर्ग जस्तै । महालंगुर हिमश्रृंखला तिर फर्कदा लस्करै हिमाल देखिने । जलवायु परिवर्तनका कारण हिमालमा अहिले थोरै हिउं र धेरै काला पहाड मात्र छन् । तिनै पहाड भएपनि यसो आँखा पुग्दा लोभ्याउने तागत राख्छन् । औंलाले गन्न सकिने र नाम थाहा पाउनेले नाम लिएरै चिनाउन सकिने हिमालहरु मुस्कुराईरहेका थिए । पच्चिममा हामीलाई छलेर महाभारत पर्वत श्रृंखलाबाट लुकेको घामले त्यहि सुन्दर हिमाललाई अझ सुनौलो रङ्ग दिएर चम्काइरहेको थियो ।

गिदानेचौर वरीपरीको मनै लोभ्याउने प्राकृतिक छटामा पनि कम्तिको आनन्द छैन् । हरियो पाटन ( वस्तु चराउने ) मा पुग्दा आफैमा चित्ताकर्षक छदैछ, त्यसमाथि पाटनको विचमा बडेमाको सिमल र पिपलको रुख अनि त्यसको फेदमा रहेको पोखरीमा पर्ने तिनीहरुको छाँयाले थप सौदन्र्य थपेको छ ।
रामेछापको सदरमुकाम मन्थलीमा यतिबेला उखरमाउलो गर्मी छ । मन्थलीको व्यस्त दैनिकीलाइ छोडेर जिल्लाकै उत्कृष्ठ गन्तव्य गिदानेचौरमा कोहि न कोहि पुगिरहेकै छन् । कहिले बैंकर पुग्छन् अनि कहिले बाह्य जिल्लाबाट रामेछापलाई कर्मथलो बनाउने कर्मचारीहरु । यसको चर्चा विस्तारै बढ्दै गएको छ । पहिलो पटक पुग्नेले अरुलाई गिदानेको बारेमा बेलिविस्तार नलगाई बस्नै सक्दैन् त्यसैले पनि यो गाउँ एकपछि अर्को मानिसको मनमस्तिष्कमा पुुगिरहेको छ । नगएकाहरुले पनि एक पटक पुग्ने अभिलाषा लिन लागेका छन् । अचेल बुढा देखि बालबच्चा सम्म धेरैले रुचाउने टिकटिकहरुमा गिदानेचौरको छटाँ देखिन थालेका छन् । त्यति भएपछि अव गिदानेलाई धेरैले चिन्ने मात्र हैन, त्यहि पुगेर आफुलाई पनि त्यहि चौरमा छमछमी नाँचेर त्यसको भिडियो टिकटिकमा अपलोड गर्न हतारो हुनेनै छ ।
गिदानेचौरको ठुलो मैदानको उत्तरपुर्वि कुनामा रहेको बडेमाको सिमलको रुखको छायाँ पोखरीको निलो पानीमा परेको दृष्यले नलोभिने कोहि हुदैन् । गिदाने लाई त्यहि दृष्यले पनि यहाँ सम्मको चर्चाको चुलिमा पु¥याएको हो । यहि कुरा बुझेर लिखु तामाकोशी गाउँपालिकाले अहिले पोखरीको परिपरी पर्खाल लगाउने देखि अझै आकर्षण थप्ने गरी काम गर्न थालेको छ । पर्यटककै लागि भनेर केहि बर्ष देखि पालिकाले उक्त चौरमा प्रतिक्षालय, सौचालय, खानेपानी लगाएतका पूर्वाधारमा काम गरिरहेको छ ।

‘रामेछापमा पनि यस्तो रमाइलो स्थान ? झण्डै १४ किलोमिटर कच्चि सडक पार गरेर पुगेका विमल कार्कीले भने । उनि तिल्पुङ्गको उकालो कच्चि त्यसमाथि ठुल्ठुला ढुंगा सोलिङ्ग गरेको सडक पार गर्दा वास्तबमै गलीसकेका थिए । जव गिदानेचौरको प्राकृतिक सौन्दर्य आफ्नै आँखाले देखे उनको थकान हरायो ।
गिदानेचौरको बाहिरी डिल तिर निस्कदा अझ रमाइलो । कठजोर देखिने डिल्कानामा उभिदा, आकाशमा उडिरहेको भान हुने । तलैदेखि आफुतिर हुत्तिदै आएको कुहिरो हेर्दा कतिबेला कुहिरोमा लुक्ने भन्ने कुत्कुति लाग्ने । कठजोरका वस्ती अनि कान्लेखेतको बान्की परेका तरेलिहरुले आँखा तानेकै हुने ।
गिदानेचौर चिसै छ । झण्डै १७ सय मिटरको उचाइको गिदानेमा सुस्तरी हावा चलिरहन्छ । चिसोमा अझ चिसो थप्ने गरी । मौसम खुलेको बेला चिसोको पर्वाह थिएन । हिउँले टपक्क ढाकिएको शैलुङ्ग हेर्ने कि लाक्पादोर्जे देखि गौरीशंकर आसपासको हिमश्रृखला । आँखै नचिम्ली हिमाल अनि नागवेलि परेका पहाडका थुम्का नियाल्दै युवाहरु मस्ति गरीरहेका भेटिन्छन् अचेल ।
दक्षिणतिरको महाभारत लमतन्न थियो । पूर्वको ओखलढुंगा देखि पश्चिमको काभ्रे सिमाना सम्मको महाभारत छ्याङ्ग खुलेको दिन पुग्नेहरु आफ्नै जिल्लाको पश्चिमी भाग राम्ररी नियाल्दै थिए । दोरम्बाको अग्लेश्वरी देखि शैलुङ्ग, खाँडादेवि र बाहुनचुरा महादेवको दर्शन गर्न मिल्ने गिदानेचौर वास्तवमै पर्यटकलाइ आकर्षण रुप देखाइरहेको हुन्छ
गिदाने पुग्नेहरु आजभोली पुग्ने वित्तिकै थकाई पनि नमारी आफ्ना मोवाइलहरु फटाफट झिक्छन् । पछिल्लो पुस्ताले चलाउने आधुनिक क्यामरा जडित मोवाइलहरुमा खिचिक्क खिचिक्क आवाज निकाल्दै गिदानेचौर र आफुलाई कैद गर्छन् र सामाजिक सञ्जालमा साझा गर्छन् । दुनियाँले जिव्रो काड्ने दृष्य उनिहरुको मोवाइल हुदै संसारभर एकैछिनमा फैलन्छ । कोहि टिकटिकमा आफ्नो भ्यूज बढाइरहेका छन् भने कोहि फेसबुकको बालमा रग्याएर अरुलाई लोभ्याइरहेका छन् ।

रामेछापको गिदानेचौर पर्यटकीय स्थल हो र पनि ओझेलमा छ । जिल्लाले पर्यटकका लागि धेरै स्थानमा पूर्वाधारको विकासनै गरेको छैन । शैलुङ्गको चर्चा बढेर गएपनि नुम्बुर सर्किट ओझेलमा छन् । थलारिडाँडा, गिदाने, सुनापातिडाँडा, सानो सैलुङ्ग, तामेडाडाँ, अनि मेहेले उपत्यका जस्ता चित्ताकर्षक स्थानमा विरलैले पाइला टेकेका छन् । जाडो होस या गर्मि, हिउँ परोस कि बादलले ढाकोस, सूर्य उदाओस कि अस्ताओस । जुन दृष्यले पनि ति स्थानमा पुग्नेलाइ चकित बनाउछन । मनै लोभ्भिने स्थान रामेछापमा कति छ कति । तर थोरैले यसको दृष्याबलोकनको मौका पाएका छन । कस्तुरीले आफ्नो नाभिको विनाको वास्ना थाहा नपाएर खोजि गरेझै रामेछापकै बासिन्दा बाहिरी जिल्लाको खर्चिलो भ्रमण गरेर डुलिरहेका छन ।
मन्थलीबाट झण्डै १४ किलोमिटर कालोपत्रे सडक पार गरेपछि कटहरे पुगिन्छ । त्यसपछि तिल्पुङ्गको केहि घुम्ती काट्दै नागदह पुगेपछि गिदाने जान थोरै मोडिनुपर्छ । सामान्य खाल्डाखुल्डि सडक पार गरेपछि प्रकृतिको बरदान गिदानेचौर लमतन्न आफ्नो रुप उदाङ्गो पारेर सौन्दर्य छरिरहेको हुन्छ ।
गिदाने सम्म सडक सुविधा छ । चारपाग्रे सवारी सहज पुग्छन । दुइ पाङ्ग्रे त जानेनै भइहाले । नागदह बजार नजिकै छ । धोवि पनि टाढा छैन । गिदानेमै सवै सामाग्री पाइन्छ । चौर जाडिएकै घरका गोकर्ण पुँवार फुर्तिला र सहयोगी छन् । उनको पसलमा धेरथोर सवै सामान पाइन्छ । स्थानीय जातका कुखुरा, परेवा अनि खसि के खाने ? गिदानेमा मोटर रोकिने वित्तिकै उनि आफै चांजोपाजो मिलाउन प्रश्न तेर्साउछन् । साहाकारीलाइ अघाउन्जेल ताजा घिउ, दहि, तरै सहितको दुध उनका थप परिकार हुन । उमेर पाकै भएपछि फरासिला गोकर्ण पाहुनाको स्वागत अनि परिकार वनाउनका लागि सहयोग गर्दा थाक्दैनन , बरु पाहुना खादाखादै थाक्लान ।

