रामेछाप । रामेछापको उत्तरी क्षेत्र चुचरेको माझकटेरामा ४ करोडको लागतमा भ्यू टावर र २ सय जना अटने सभाहल केहि महिना अघी मात्र निर्माण पुरा भएको छ । बाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भएको उक्त भ्यू टावरमा पुग्न गर्जाङबाट झण्डै २२ किलोमिटर उकालिनुपर्छ ।
कोर्र्याङखर्क नजिकको एकलासको थाप्लोमा पुगेपछि आसपासको ठाउँ मात्र हैन मध्य देखि पूर्वि नेपालका प्राय सवै हिमाली श्रृखंला देखिन्छ । जहाँ भ्यू टावरको आवश्यकतानै पर्दैन । त्यस माथि त्यही स्थानमा एकै पटक ८÷१० जना भन्दा बढी मानिस कहिल्यै पुगेका छैनन् । २ सय अटने सभाहलको औचित्य के का लागि ? जसको पुष्टि सरकारी निकायले गर्न सकेको छैन । गाउँपालिकाका जनप्रनितिधि समेत उक्त कार्य किन र के का लागि ? भन्ने प्रश्न गरिरहेका छन् । वडा प्रतिनिधिहरुलाई समेत उक्त स्थानमा भ्यू टावरको निर्माण कार्य कति भयो ? कसले गरेको हो ? भन्ने कुराको जानकारी समेत छैन् । वडाका जनप्रतिनिधिहरुको अनविज्ञताले भोलीका दिनमा भ्यू टावरको रेखदेख, संचालन र मर्मत लगाएतको काममा समेत अस्पष्टता झल्कन्छ ।
विच जंङ्लमा रहेको सो भ्यू टावर आसपास वस्ती र पर्यटकिय पदमार्ग छैन । हाल सम्म पर्यटकिय क्षेत्रको रुपमा पहिचान दिलाउन नसकेको त्यस क्षेत्रमा किन भ्यू टावर आवश्यक थियो ? भन्ने कुरा स्थानीयहरु नागरिकहरु पनि अनविज्ञ छन् । भ्यू टावर रहेकै वडा चुचरे स्थित खिम्ती उपत्यकाको समथर भाग बाहेक अन्य भागमा बर्षायाम लागेपछि गाडि चल्दैन । ‘सिवालय देखि वाम्तीको देउराली जाने बाटोमा उक्त लगानी गरेको भए हुन्थ्यो ’ स्थानीय पदमवहादुर कार्की भन्छन – थोरै सडक पक्की बनाउन सकेको भएपनि राम्रो हुन्थ्यो ।
उता खाँडादेविको खाँडादेविमा बाग्मती सरकारकै झण्डै ३ करोडको लगानीमा पकरवासको सोलिथुम्कामा भ्यू टावर निर्माण गरेको केहि बर्ष वितेको छ । ‘सोलिथुम्कामा पुगेपछि यस अघी जे देखिन्थ्यो, अहिले भ्यू टावर चढेपछि पनि त्यहि देखिन्छ ’ स्थानीय किरण पौडेल भन्छन – फरक हामी रुख भन्दा अग्लीएका छौं, टावर चढेपछि रुख तल देखिन्छन् । परका वस्ती र दृष्यहरु हेर्नको लागि त पहिले पनि डाडाँको टापुनै काफि थियो ।

सोलिथुम्का भ्यू टावर निर्माण भएको केहि समयमानै जिर्ण भएको छ । फोहोरको डंगुर मात्र हैन, छाना उडाएको छ । रेखदेख र नियन्त्रण कसैको छैन् । जंगलमा बस्तु चराउन जाने गोठालाहरु पनि मुस्किलले पुग्ने उक्त थलोमा निर्माण भएको सरकारी सम्पत्तिको रेखदेखका लागि कुनै प्रबन्ध छैन् । गाउँपालिकाले उक्त संरचना आफ्नो जिम्मामा नआएको भन्दै मर्मत संभार र संचालनमा अनिच्छा जाहेर गर्दै आएको छ ।
रामेछाप नगरपालिकाको भालुखोप डाडाँमा रामेछाप नगरपालिकाले झण्डै १ करोड ४१ लाखमा भ्यू टावर निर्माण गरेको पनि केहि बर्ष वितेको छ । भालुखोपबाट जति पहिले आसपासका दृष्यावलोकन गर्न सकिन्थ्यो अहिले भ्यू टावरको चुलीमा उक्लिदा पनि त्यस भन्दा बढी केहि देखिदैन् । फरक के हो भने जमिन भन्दा मानिस माथि भएको अनुभुति चाँहि अवस्य हुन्छ ।

दोलखा र रामेछाप जिल्लाको सिमामा रहेको सवैभन्दा अग्लो शैलुङडाँडामा संघीय सरकारको लगानीमा भ्यू टावर निर्माण भएको छ । झण्डै २ करोड खर्च भएको उक्त भ्यू टावर निर्माण पछि त्यस एउटा वहसनै भयो । डाडाँको टाकुरोमा किन चाहियो टावर ? ।
कुनै बेलामा दोलखा तर्फका बासिन्दाले भत्काउने चेतावनी दिएको उक्त भ्यू टावर नजिकै शैलुङ महोत्सवका लागि केहि बर्ष अघी हेलिकप्टर बाट आएका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि शैलुङको टाकुरामा भ्यू टावर लगाएतका संरचना निर्माण भएकोमा चित्त वुझेन । उनले महोत्सवलाई सम्बोधन गर्दै भनेका थिए – डाडाँको टुप्पोमा भ्यू टावर लगाएतका संरचना आवश्यक छैनन् , अव कुनै संरचना नथप्नुस, शैलुङको सौन्दर्य आफैमा राम्रो छ , यसलाई तपोभुमिको रुपमा विकास गरौं । ध्यान केन्द्रको रुपमा शैलुङको चिनारी हुनु आवश्यक छ, किनकी शान्तिका प्रतिक बुद्धको पाईला परेको मान्यता शैलुङमा छ ।
भ्यू टावर निर्माणमा संघ, प्रदेश र स्थानीय सरकार सवैको लगानी छ । उमाकुण्ड र गोकुलगंगाको विचमा पर्ने सवैभन्दा अग्लो डाडाँ तामे भ्यू टावर र सुनापति गाउँपालिकाको सुनापति डाडाँमा पार्क सहितको भ्यू टावरका लागि समेत खरिद संझौता भएका छन् । उक्त दुई भ्यू टावर निर्माणका लागि करिव ८ करोड खर्च लाग्ने अनुमान छ । सुनापतिको लागि संघीय सरकार ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिसत लागत साझेदारी छ ।
भ्यू टावर निर्माणमा लगानी गरेको कुराको जनप्रतिनिधिहरु कुर्लिकुर्ली भाषण दिने गरेका छन् । ‘गाउँमा खानेपानीको लागि पाईप माग्नेको काम हुदैन ’ पौडेल भन्छन – डाडांको टाकुरामा करोडौंको लगानी गरेर चुनावी मुद्धा वनाउछन र त्यसैलाई विकास भन्ठान्छन् ।
रामेछापका विभिन्न स्थानका भ्यू टावर निर्माणका लागि मात्र राज्यको १६ करोड ९१ लाख रुपैयाँ लागेको छ । काम ढिलो भए र संरचनामा थप निर्माण कार्य गर्नुपर्दा लागत अझ थपिने पक्का छ ।
