रामेछाप । १९ औं जातिय छुवाछुत तथा भेदभाव उन्मुलन दिवसका अवसरमा अन्तरजातिय विवाह गर्ने दलितहरुका जोडीलाई सम्मान गरिएको छ । मन्थली नगरपालिकामा वसोवास गर्ने अन्तरजातिय विवाह गरेका जोडीलाई नगद पुरस्कार र सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगाएतले कार्यक्रममा उनीहरुलाई सम्मान गरेका हुन् । कार्यक्रममा बर्षौ अघी विवाह गरेका त्यस्ता केहि जोडीहरुले आफुलाई दलित भएकै कारण गैरदलित संग विवाह गर्दा परेको समस्याको अनुभन साटासाट गरेका थिए ।
राष्ट्रिय दलित पत्रकार संघ रामेछापले आयोजना गरेको उक्त कार्यक्रमको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका थिए । समाजमा दलितहरु माथि हुने भेदभाव र छुवाछुतको कुरा अव कानुनी रुपले दण्डनिय भएकाले त्यस तर्फ सवैले सजग हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ नेपाल रामेछापका अध्यक्ष नबराज विश्वकर्माको अध्यक्षतामा भएको थियो ।
