रामेछाप । रामेछापका उद्योग, कृषि तथा पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने उद्धेश्यले आईतबार मन्थलीमा एक दिने प्रदर्शनी तथा अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको छ ।

मन्थली नगरपालिका लगाएतका निकायको आर्थिक सहयोगमा रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रमको नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ट उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा उनले रामेछाप जिल्लाले कृषि, उद्योग र पर्यटनको क्षेत्रमा गरेका कामको चर्चा गर्दै त्यसलाई अझ प्रचार र प्रबद्र्धनात्मक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए । महासंघले रामेछापको व्यवसायिक क्षेत्रको विकासका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । साथै उनले रामेछाप उद्योग वाणिज्य संघले गरेका विभिन्न कृयाकलापको महासंघले मसिनो ढंगबाट मूल्यांकन गरेको भन्दै उनले संघको स्तरउन्नति तर्फ अग्रसर हुन आग्रह गरे ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले रामेछापमा कृषि र पर्यटनको प्रचुर संभावना भएपनि त्यसको प्रचार र पूर्वाधारको विकासमा पछि परेको गुनासो गरे । पूर्वाधारको विकास गर्ने हो भने हामीले हिमाल देख्न मुस्ताङ र ताल हेर्नका लागि भरत ताल पुग्नु पर्ने अवस्था आउदैन भन्दै श्रेष्ठले त्यसका लागि सवैको प्रयास साझा हुनुपर्ने वताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको बागमति प्रदेशका अध्यक्ष बेदवहादुर श्रेष्ठले प्रदेश सरकार र स्थानीय सरकार संग निजी क्षेत्रले सहकार्यमा धेरै कार्य सक्ने भएकाले त्यस्ता कार्यक्रम संचालन गर्ने उद्योग वाणिज्य संघ र सचिवालयलाई प्रोत्साहित गर्ने वताए ।

कार्यक्रममा तामाकोशी मरिन एडभेन्चर प्रालिले रामेछाप जिल्लाको पर्यटन क्षेत्रको विकास र संभावना बारे वृतचित्र प्रश्तुति गर्दै व्यवसायी सागरहरी अधिकारीले पर्यटन संग रामेछाप विमानस्थलको सेवा समेटन सक्नु पर्ने कुरामा जोड दिए । त्यसैगरी जिल्लाको कृषि, फलफुल, तरकारी र दुग्धजन्य पदार्थको बारेमा भानु श्रेष्ठ र दधिलाल नेपालले प्रश्तुतिकरण गरेका थिए ।

जिल्लामा संचालन भएका घरेलु तथा लघु उद्योग बाट उत्पादित सामाग्री, तरकारी, फलफुल, मह र दुग्धजन्य सामाग्रीको प्रदर्शनी समेत गरीएको थियो । सोहि कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघले यस बर्ष सगरमाथा आरोहण गरेका मन्थली १ निवासी आरोहि धानु श्रेष्ठ र एसईई परिक्षामा ४ जीपिए ल्याउने व्यवसायी सदस्यका छोरीछोरीलाई सम्मान गरेको थियो । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष आकाश रिजाल लगाएतका वक्ताले समसायिक विषयमा आ आफ्ना धारणा समेत राखेका थिए ।