टीकाप्रसाद भट्ट
रामेछाप । राजा गीर्बाणयुद्धका पालामा रहेका ४ काजी मध्ये रामेछापको दोरम्बा बोदल घर भएका काजी लक्ष्मण घर्तीमगरको धर्म प्रतिको आश्थाका कारण झण्डै १० पुस्ता सम्मका मोहीले खेति कमाई गर्दै आएको जग्गा जमिनको लालपूर्जा आफ्नो बनाउन सकेका छैनन् ।
राजा गीर्बाणयुद्ध बीरविक्रम शाहले काजी लक्ष्मण घर्तीमगरले राम्रो काम गरे वापत विर्ता माग्न भनेका थिए । तर घर्तीमगरले ‘विर्ता चाहिदैन् सरकार मन्दिरको नाममा गुठी पाउँ’ भनेर विन्ती चढाए । राजाले उनकै माग बमोजिम हाल सुनापति गाउँपालिकामा पर्ने त्यस क्षेत्रमै कहलिएको मन्दिर आलमपुर श्री भिमेश्वर मन्दिरको नाममा गुठी बनाउन आदेश दिए । त्यहि आदेशले पाएको गुठी घर्तीमगरका १० पुस्ता र आसपासका गाउँहलेहरुका लागि अहिले कमाई खाउ न छोडी जाउँ भएको छ ।
तत्कालिन दोरम्बा, टोकरपुर र डडुवा गाउँविकास समितिमा पर्ने १६ गाउँको जग्गा हाल सम्म पनि उक्त गुठीको नाममा छ । हाल दोरम्बा शैलुङ गाउँपालिकामा पर्ने साविक दोरम्बा गाविसको बोदल, ढोईगाउँ, भण्डारे, ओख्रेनी, दहपाताल, देउराली, रामथुम्का, गुजेपानी, खलङ्गा, साविक टोकरपुर गाविसको लेखर्क र साविक डडुवा गाविसको पात्ले, नाघी, भुते, डडुवा, राजभीर र खोलाखर्क आलमपुरश्री भिमेश्वर गुठीको नाममा रहेको छ । स्थानीयहरु मोही मात्र छन् । कसैको हातमा लालपुर्जा छैन् ।
मेरो हातमा लालपुर्जा छैन्, जग्गा जमिन बाउ बाजेको नामबाट मोही सार्न पाएको पनि छैन्’ दोरम्बा शैलुङ गाउँपालिका १ डडुवाका वडा अध्यक्ष प्रेम लामा भन्छन् – गुठीमा रहेको जग्गाको तिरो तिर्नु भन्दा बरु जग्गा छोड्नु जाति हुन्छ । लामाको परिवारमा करिव ८० रोपनी पाखो बारी र ३ रोपनी खेत रहेको छ । लामाको परिवारले उक्त जग्गाको कयौं बर्ष सम्म तिरो बुझाउन सकेको अवस्था छैन् । गाउँलेहरु गुठीका समस्या लिएर वडा देखि पालिका धाउछन, वडाअध्यक्ष लामा पनि त्यहि समस्यामानै जकडिएका छन् । सामान्य सिफारीस दिएको जस्तो नागरिकको समस्या सुल्झाउन सक्ने वडा र पालिका सक्षम छैन् ।
गुठी संस्थानले तोकेको अत्याधिक शूल्कका कारण १६ गाउँका प्राय सबै मोहीले बर्षौ सम्मको तिरो तिरेका छैनन् । गुठी संस्थानले कुत ( तिरो ) अन्नको माना पाथिमा निर्धारण गरेको हुन्छ । संस्थानले निर्धारण गरेको अन्नको भाउ पैसामा रुपान्तरण गरेर कुत लिने गरिन्छ । त्यस्तो कुत खेतको हकमा बार्षिक १ रोपनीको झण्डै १७ पाथि धान तिर्नुपर्छ । उक्त धानको मोल समेत निर्धारण गरिएको हुन्छ । एक पाथि धानको पछिल्लो पटक १ सय ३७ रुपैयाँ दर तोकिएको छ । त्यस हिसावले बार्षिक १ रोपनी खेतको २ हजार ७ सय रुपैया सम्म माहीले तिरो वापत तिर्नुपर्ने बाध्यता छ । पाखो बारीको भने केहि थोरै तिरो निर्धारण गरिएको छ ।
गुठीले अत्याधिक रुपमा तिरो तोकेकोले त्यसलाई घटाउन र गुठीको जग्गा रैतान बनाउन माग गर्दै बर्षौ देखि जनप्रतिनिधि देखि लिएर सर्वसाधारणले गुठी संस्थान र सरकारलाई अनुरोध गर्दै आएका छन् । तर उक्त समस्या समाधान भएको छैन् । २०८० साल तिर संस्थानले स्थानीयको चर्को दवाव पछि तोकिएको दरमा पुनरावलोकन गरी केहि न्यून दर निर्धारण गरेर पठाएको थियो । त्यस यता फेरी कुनै सुनुवाई भएको छैन् । गुठीको जग्गाको हरेक पुस महिनामा तिरो नतिरे संस्थानले जरिवाना समेत असुल गर्छ ।
तिरो बढी भएकै कारण राजा र पञ्चायतको पालामा समेत स्थानीयले तिरो बुझाउन आनाकानी गर्दै आएका थिए । त्यस बेला सम्म तिरो उठाउन गुठीयारले मानिसहरु मोहीको घर आँगनमै पठाउथे । २०५२ सालमा माओवादीले जनयुद्ध थालेपछि तोरो उठाउने काम गाउँमा प्रभावित भयो । ‘पछि व्यवस्था फेरीयो , झन तिर्ने कुरै भएन, ’ दोरम्बा बोदलका स्थानीय रामवहादुर मगर भन्छन् – माननीयहरुले हामी गुठीको समस्या समाधान गर्छौ भने, चुनावी नारा बनाए, भाषण गरे, हामीले समस्या समाधान होला, हाम्रो नाममा पुर्जा आउला, नआएपनि तिरो छुट पाईएला भनेर आशा ग¥यौं, तर समस्या अझै सुल्झिएको छैन् । मोहीका समस्या उस्तै छन् ।

सरकारले गुठी समस्या समाधानको लागि २०६४ साल अघी गुठीको जग्गा रैतानी गर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था सर्बोच्च अदालतको आदेशले रोकियो । खुलेको बेलामा केहि सिमित टाठाबाठा हरुले गुठीको नाममा कायम श्रेस्ता पूर्जा रैतान गरी आफ्नो नाममा पारेका थिए । गुठी रैतान भएको जग्गाको पनि तिरो भने गुठी संस्थानमानै तिर्नुपर्ने व्यवस्था छ । तर त्यसको दर फरक छ ।
भूमि प्रशासन कार्यालय रामेछापमा गुठी संस्थाको जग्गाको लगत राख्ने बेग्लै शाखा छ । उक्त शाखाले जग्गाको लगत राख्ने र उठेको कुत गुठी संस्थानमा पठाउने गर्छ । जग्गाको मोही हस्तान्तरण गर्ने या किनबेच गर्दा मात्र बक्यौता वापत तिरो एकै पटक तिरेर जग्गाको मोहि नामसारी गर्ने चलन छ ।
भूमि प्रशासन कार्यालय रामेछापका सूचना अधिकारी जीवनकुमार श्रेष्ठका अनुसार आलमपुर श्री भिमेश्वर गुठीको नाममा कुल १० हजार ६ सय ६५ रोपनी ८ आना १ पैसा ३ दाम जग्गा रहेको छ । त्यसमध्ये २ सय ७ रोपनी ५ आना खेत र १० हजार ४ सय ५८ रोपनी ३ आना १ पैसा २ दाम बारी रहेको छ । उक्त जग्गाको तिरो बर्षौ देखि मोहिहरुले तिरेको अवस्था छैन् । कार्यालयमा कस्को कुन बर्ष देखिको तिरो तिर्न बाँकी रहेको भन्ने कुराको लगत पनि छैन् । मोहि आफैले कुन बर्ष तिरो तिरेको थियो, त्यसको रसिद देखाएपछि मात्र बाँकी रहेका बर्षहरुको कार्यालयले तिरो लिने गरेको श्रेष्ठले वताए । उक्त तिरो रकम गुठी संस्थानमा पठाउने गरिएको छ ।
पालिकाले कर पाउदैन, जग्गाको मूल्याङ्कन पनि गर्दैन्
पालिका भित्र पर्ने जग्गाको कर स्थानीय सरकारले उठाउने र स्थानीय विकास निर्माण लगाएतमा खर्च गर्ने अधिकार कानुनले दिएको छ । तर गुठी संस्थानको नाममा लगत रहेको जग्गाको तिरो वापत उठेको रकम स्थानीय सरकारको खातामा जादैन् । भूमि प्रशासन कार्यालयले उठेको तिरो सबै गुठीसंस्थानमानै पठाउने गरेको छ । गुठी संस्थानमा पैसा जाने भएपछि स्थानीय सरकारको आन्तारिक श्रोत तर्फको आयमा समेत असर परेको छ ।
गुठी संस्थानको नाममा रहेको जग्गाको मूल्याङ््कन पनि स्थानीय सरकारले गर्दैन् । बैंक तथा वित्तिय संस्थामा लालपूर्जा राखेर पैसा झिक्न आफ्नो नाममा पूर्जा नभएकै कारण असमर्थ रहेका सर्वसाधारणहरुले खेति कमाई गरेको जग्गाको मूल्यांकन गरेर आफ्नो सम्पत्ति तथा जायजेथा देखाई छोराछोरीको शिक्षा दिक्षाको प्रवन्ध गर्न अथवा धितो मूल्यांकन गराई ठेक्का पट्टाका लागि ग्यारेण्टी लिन कठिनाई झेल्दै आएका छन् । ‘यो ज्यादै ठुलो समस्या छ, कम्ति पिडा छैन् ’ दोरम्बाशंैलुङ गाउँपालिका २ का वडा अध्यक्ष मेचमान योञ्जन भन्छन् – गुठीको समस्या विकराल छ ।
मन्दिरमा पूजाआजा पनि प्रभावित
दोरम्बा बोदलका केशव थापामगरका अनुसार २०३२ सालमा रामेछाप जिल्लामा नापी हुदाँ गुठी संस्थानको नाममा जग्गा दर्ता गरी श्रेस्तामा जग्गा कमाउनेहरुको नाम मोही कायम भएको थियो । राणाकाल र पञ्चायतकालमा गुठीले नियमित रुपमा तिरो उठाउने गरेको थियो । तिरो उठाउनका लागि गुठीले विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिएको थियो । उठेको तिरो बाट मन्दिरको नियमित पुजाआजा, नगर्चे, सुसारेहरु राखिएका थिए । बैशाख पूर्णिमा, श्रावण पूर्णिमा , भिमा एकादशी दशै र रामनवमी जस्ता ठुला पर्वमा मन्दिरमा बली सहित पूजा आजा पनि गुठियारहरुले उठेको तिरो बाट गर्ने गरेका थिए । पछि मन्दिरमा चोरी भएको र केहि अभिलेखहरु हराएपछि ताम्रपत्र र लालमोहर भने गुठीसंस्थाको भद्रकालीमा लगेर बुझाइएको थापामगरले वताएका छन् । पहिलेकोझै अहिले मन्दिरको पुजाआजा र अन्य व्यवस्था नरहेको वताइएको छ ।
जिल्लाका अरु ठाउँमा पनि छ, गुठीको समस्या
आलमपुर श्री भिमेश्वर सहित रामेछाप जिल्लामा गुठी संस्थानको नाममा विभिन्न स्थानमा ११ वटा गुठीको नाममा जग्गा रहेको छ । उक्त जग्गा हजारौं रोपनी छ । ति सबै स्थानका जग्गा कमाउने मोहिका समस्या समान खालका छन् ।
भूमि प्रशासन कार्यालय रामेछापको लगतमा रामेछाप जिल्लामा गुठी संस्थानको नाममा जिल्लामा कुल २१ हजार ३८ रोपनी २ आना १ पैसा साढे ३ दाम जग्गा रहेको छ । त्यसमध्ये ९ सय १५ रोपनी ७ आना, १ पैसा, साढे २ दाम खेत र २० हजाार १ सय २२ रोपनी ११ आना १ दाम बारी रहेको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार आलमपुर श्री भिमेश्वर गुठी (गुन्सी, टोकरपुर र बेथान समेत ) बाहेक पलाञ्चोक भगवति गुठी दिमीपोखरी, भिमेश्वर गुठी सुकाजोर, श्रीकृष्ण गुठी मझुवा, बौद्यनाम भगवान काकलिङ गुठी गेलु, जाल्पादेवि गुठी नागथली ( खिम्ती ) , जगन्नाथ धुनी गुठी नागथली र नर्बदेश्वर शिवजी गुठी नागथली रहेका छन् ।

