रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभियानमा नाम कहलाउदै आएको सितल चिनी अर्थात सजिवनको बिश्वमै सबैभन्दा पुरानो रुख रामेछापमा फेला परेको छ । रामेछापको मन्थली नगरपालिका ७ भटौलीको माझी गाउँमा करिव ८५ बर्ष पुरानो सजिवनको रुख भेटिएको हो । उक्त रुखले अझै पनि फल ( कोषा ) दिईरहेको छ र रुख स्वस्थ्य रहेको छ ।
सितलचिनी अर्थात मोरिङ्गाको खेति र सेवनका बारेमा बारेमा नेपाल लगाएत विश्वका विभिन्न २६ देशमा विगत लामो समय देखि अभियान चलाउदै आएका डा. प्याट्रिक चाउका अनुसार विश्वमा यति धेरै पुरानो रुख अन्यत्र रहेको जानकारीमा छैन् । बिहिबार भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिसरमा मोरिङ्गा विरुवा रोपन र विरुवा वितरणका लागि पुगेका डाक्टर चाउले स्थानीय हर्कवहादुर माझीको घर नजिक रहेको रुख भएको स्थानमा पुगेर उक्त दावि गरेका हुन् ।
‘म यो अभियानमा धेरै देशको यात्रामा छु र यति धेरै पुरानो र ठुलो रुख अन्यत्र देखेको र रहेको जानकारी मलाई छैन् ’ डाक्टर चाउले भने । उनले चाडैनै माझीको रुखले विश्वको सबैभन्दा पुरानो मोरिङ्गाको रुख भनेर प्रमाणिकरण पाउने आशा पनि व्यक्त गरे । डा. चाउ सहितको सहभागितामा रुद्राक्षेश्वर मावि परिसरमा सयौं विरुवा रोपिएका र विद्यार्थीहरुलाई घर परिसरमा लगाउनका लागि विरुवा समेत विरतण गरिएको थियो ।

मन्थली ७ का वडा अध्यक्ष भुवनहरी प्रसाईले आफु सानो हुदाँ देखिनै उक्त रुख देखिरहेको वताउदै अन्यत्र त्यति पुरानो रुख रहेको जानकारी नभएको वताए । भटौलीको माझीगाउँबाट रोजगारीका सिलसिलामा भारत पुगेका वृहष्पति माझीले त्यहिबाट विउ ल्याएर रोपेको मानिएको उक्त सजिवनको रुख अहिले उनका नाती हर्कवहादुर माझीको अंशमा परेको छ ।बृहष्पति वितेको बर्ष र उनका चौथो पुस्ताका पनाति कुमारको उमेर हिसाव गर्दा उक्त रुख ८५ बर्ष भन्दा पनि पुरानो हुन सक्ने दावि वडा अध्यक्ष प्रसाईले गरेका छन् ।
पहिले सजिवनको कलिलो कोषा टिपेर तरकारीको रुपमा मात्र प्रयोग गर्ने गरेकोमा हाल यसको प्रयोग छिप्पिएको कोषा र पात समेत महंगोमा विक्री हुन थालेको छ । सजिवनको पात छायामा सुकाएर धुलो बनाएर महंगो मूल्यमा विक्री हुन थालेपछि यसको प्रचार र प्रयोग दुवै बढ्न थालेको हो । भारतमा झै नेपालमा पनि सजिवनको छिप्पिएको कोषा तरकारीको रुपमा प्रयोग गर्नेको सख्या बढ्दो छ ।
डा. चाउको संस्था मोरिङ्गा फर लव नामको संस्थाले विश्वभर यसको खेति र सेवन प्रवद्र्धनका लागि विउ वितरण, वृक्षारोपन र जनचेतना अभिवृद्धि गर्दै आएको छ । अफ्रिकि मुलुक हाईटी बाट उनको संस्थाले उक्त अभियान थालेको वताईन्छ ।
