रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका २ मझुवा नेवारटोलका बृद्ध दम्पतिलाई बाँधेर सुन तथा नगद डाका चोरी गर्ने समूहका ५ जना लाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भदौ १८ गते राति १२ बजे मझुवाका ८५ बर्षिय बखतमान लामा र ८६ बर्षिया कान्छिमाया तामाङलाई नकाबधारी ३ जनाको समूहले घरको ढोका फुटाई बन्धक बनाई उनीहरुको साथ बाट सुन तथा नगद लगेका थिए ।

उक्त समूहमा सम्लग्न ५ जनालाई दुई पछि शनिबार भक्तपुर जिल्लाको बिभिन्न स्थानमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याएर हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला घ्याङलेक २ का २५ बर्षिय सुमन जर्घामगर, खाँडादेवि २ रामेछापका ३२ बर्षिय दिर्घराज मोक्तान, सोहि स्थानका ३३ बर्षिय पशुपति श्रेष्ठ, झापा जिल्ला दमक नगरपालिका ७ का ४४ बर्षिय पिताम्बर गहतराज र धनकुटा जिल्ला बेलहरा ५ का ३८ बर्षिय गुणराज विश्वकर्मा रहेका छन् । उनीहरु माथि प्रहरीले डाका चोरी मुद्धामा अनुसन्धान अघी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतका अनुसार ढोका फुटाएर घर भित्र पसेका उनीहरुले वृद्ध दम्पतिको प्लाष्टिकको टेपले हात बाँधेर, मुख थुनि आँखामा पट्टी बाँधी, ज्यान मार्ने समेत धम्की दिएर उनीहरुको साथमा रहेको सुन र पैसा लिएर हिडेका थिए । उक्त घटनाको सूचना पाउने वित्तिकै प्रहरीले खोज तलास गरी घटनामा सम्लग्न रहेका ५ जनालाई भक्तपुर जिल्लाका विभिन्न स्थानमा पुगेर पक्राउ गरेको हो । उनीहरुको साथ बाट सुनजस्तो पहेलो धातुका गहना, डाका चोरी कार्यमा प्रयोग भएको मोटरसाईकल र मोवाईल फोन लगाएतका सामाग्री समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेहरु मध्ये पशुपति श्रेष्ठ यसअघी पनि चोरी कसुरमा पक्राउ परेको पटके अभियुक्त रहेको, गुणराज विश्वकर्मा जुवा सम्बन्धि कसुरमा पक्राउ परेको र दीर्घराज मोक्तान अभद्र व्यवहार सम्बन्धि कसुरमा प्रहरीले अनुसन्धान गरेको व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ ।