सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयारी थालिएको छ । सरकारले बजेट नदिएपछि यसअघी निर्माण भइसकेका निर्माण कार्यको संरक्षणका लागि पनि उक्त पार्क स्थानीय सरकारलाई हस्तान्तरण गर्न थालिएको हो ।
बिपीको जन्मथलो सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका १ मा पर्ने दुम्जा धरणीडाडाँमा शहरी विकास मन्त्रालय मार्फत ६ बर्ष अघी देखि पार्क निर्माणको काम थालिएको हो । शहरी विकास तथा भवन निर्माण विभागबाट गुरु योजना स्वीकृत गरी थालिएको उक्त पार्क निर्माणका लागि सरकारले कनुै आर्थिक बर्षमा न्यून र कुनै आर्थिक बर्षमा बजेटनै नदिएका कारण बर्षौ सम्म पनि काम अधुरै रहेको हो ।
‘बिपी पार्क भित्र मूख्य संरचनाको निर्माण भएका छन्’ सघन शहरी तथा भवन निर्माण आयोजना रामेमछापका ईन्जिनियर संतोष यादवले भने – तर सवै संरचना निर्माणका लागि बजेट नभएकाले पुरा गर्न पाईएको छैन् । यस आर्थिक बर्षका लागि सरकारले उक्त पार्क निर्माण कार्यका लागि ७० लाख बजेट बिनीयोजन गरेको थियो । तर जेनजी आन्दोलन पछि उक्त बजेट खिच्यो, काम गर्न पाईएन । आगामी आर्थिक बर्षको लागि सार्वजनिक भएको बजेटमा समेत बिपी पार्कका लागि कुनै बजेट तथा कार्यक्रम समेटिएको छैन् ।

पार्क भित्र हाल सम्म बहुउद्धेश्यीय सभाहल, बिपीको घर , संग्रहालय भवन, केहि कालोपत्र सडक, पार्क भित्र फुटपाथ निर्माण र सालिकहरु राख्ने यार्डहरु निर्माण पुरा भएका छन् । त्यसका लाागि बिभिन्न आर्थिक बर्षमा गरि झण्डै ३ करोड ५० जति बजेट खर्च भएको छ ।
गुरु योजनामा समावेश भएका पिकनिक स्पोर्ट, पालेघर, घेरा बारा, प्रवेशद्धार, टिकट घर, हेलिप्याड, वृक्षारोपण लगाएतको काम बाँकीनै छन् । पार्क निर्माणका लागि पहल गर्ने स्थानीय बासिन्दा तथा समाजसेवि बच्चु कोईराला भन्छन् – मुख्य प्रवेशद्धार र घेराबेरा हुने वित्तिकै उद्धेश्य बमोजिम केहि न केहि देखाउन योग्य ठाउँ हुन्थ्यो ।
सरकारले दुम्जाको धरणीडाडाँमा पर्ने विभिन्न व्यक्तिहरुको ७८ रोपनी जग्गा अधिग्रहरण गरेको र त्यस संग जोडिएको सार्वजनिक जग्गा समेत गरी १ सय ४६ रोपनी जग्गामा पार्क भित्र समेटने गरी गुरुयोजना बनाएको थियो । उक्त जग्गा अहिले खुल्ला भएकाले पार्क व्यवस्थापन र संरक्षणमा कठिनाई परेको छ ।
कोईरालका अनुसार बिपीको जन्मथलो भएकाले दैनिक जस्तो आगन्तुकहरु दुम्जाको धरणीडाडाँमा पुग्ने गरेका छन् । स्थानीय राजनीतिक दल र संघ संस्थाले पार्क भित्र बनेका संरचनामा कार्यक्रम गर्छन् । कसैले बनभाेज खानका लागि पनि साे पार्ककाे प्रयाेग गरेका छन् । सुनकाेशी गाउँपालिकाले पार्कका संरचनाको रेखदेखका लागि एकजना हेरालुको व्यवस्था गरिदिएको छ । अव पनि पार्क गाउँपालिकालाईनै जिम्मा लगाउने तयारी रहेको उनले वताए । स्थानीय बासिन्दाले पार्कको संरक्षण र विकास गर्नका लागि संस्था बनाउने उद्धेश्य राखेका भएपनि उक्त कार्यले पूर्णता पाएको छैन् । पार्कमा लगानी गर्ने संघीय सरकारले बिपी पार्क निर्माण पश्चात कसरी संचालन गर्ने र त्यसको जिम्मेवारी कस्को रहने भन्ने कुरा समेटेर अहिले सम्म कार्यविधि बनाएकै छैन् ।

घेराबेरा विनाको पार्क क्षेत्र भित्र अहिले हेरौं हेरौं लाग्ने विपीको घर तयार भएको छ । साविकमा जस्तो थियो त्यस्तै गरी बनाइएको बिपीको घर स्थानीय र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । स्थानीय कोईरालाहरुको पहलमा पार्क भित्र सजाउनका लागि विभिन्न व्यक्तिहरुका सालिक पनि अहिले राखिएका छन् । तर ति सवै सालिकहरु कपडाले बेरेर ठड्याइएका छन् । मुखाकृति खोलिएको छैन् । कुनै कार्यक्रम गरेर सालिकको अनावरण गर्ने कि ? भन्ने सोँच रहेको बच्चु कोईरालाले जानकारी दिए ।
हेटौंडाबाट खेदाएर सिन्धुलीको दुम्जामा आईपुगेका तत्कालिन काजि दामोदर कोईराला देखि त्यस स्थानमा कोईरालाहरुको बसोवास सुरु भएको पाईन्छ । त्यसैले पार्क भित्र काजी दामोदर कोईराला, कृष्णप्रसाद कोईराला, बिपी कोईराला, मातृकाप्रसाद कोईराला, गिरीजाप्रसाद कोईराला, शुसिल कोईराला, धरणीधर कोईराला, मोहन कोईराला, ढुण्डीराज कोईराला, तारणीप्रसाद कोईराला र शंकर कोईरालको सालिक बनाइएको छ । ति कुनै पूर्ण कदका र कुनै अर्धकदका रहेका छन् । सालिकहरु पार्कका विभिन्न स्थानमा राखिएको छ ।

बागमति प्रदेश सरकारले गत बर्ष विपी कोईरालाको र सुनकोशी गाउँपालिकाले यस बर्ष गिरीजाप्रसाद कोईरालाको सालिक निर्माणका लागि सहयोग गरेका छन् । त्यसबाहेकका अरु ९ वटा सालिक शिक्षाविद डा. विध्यानाथ कोईराला लगाएतको पहलमा सालिक निर्माण गर्ने कलाकार देखि विभिन्न सहयोगीबाट जुटाइएको हो । सालिकका लागि शहरी विकास मन्त्रालयले खर्च गरेको छैन् ।
२०७४ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले नेपालका दुई शिर्ष राजनीतिज्ञ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको जन्मथलो क्रमस सिन्धुलीको दुम्जा र रामेछापको भंगेरीमा स्मृति पार्क निर्माण गर्ने गरी प्राथमिकता प्राप्त कार्यक्रम स्वीकृत गरी निर्माणको काम अघी बढाएका थिए । त्यसपछिका सरकारले पार्क निर्माणमा त्यति धेरै चासो नदिदा पार्कको बिपी र पुष्पलाल पार्क पुरा गर्नमा अन्यौलता कायमै छ ।
