रामेछाप – तामाकोशी नदी किनारको माझी गाउँ हेर्दा जति सुन्दर छ, त्यसु सुन्दरताभित्र अनेकौं पिडा लुेकेका छन् । स्वास्थ्य शिक्षा र रोजगारीका कुरा ओझेलमा परेको उक्त गाउँलाई कहिले च्छोरोल्पा हिमताल त कहिले सुनकोशी २ जलविद्युत आयोजनाले गिजोल्न छोडेको छैन् । भोटेकोशीमा बाढी उर्लिए पछि तामाकोशी किनारको बस्तीमा पनि धेरैको छाँती उचाल्लिरहेको छ । विज्ञहरुका कुरा यहि बेलामा नानाथरी आईरहेका छन् । धेरैले भनेको छन् च्छोरोल्पा उच्च जोखिममा छ ।

सगैंका अन्य वस्तीका बासिन्दा मस्त निन्द्रामा हुदाँ तामाकोशी किनारको माझी गाउँका बासिन्दा बालबच्चा र पोका पन्तरा वोकेर बेला बखत सुरक्षित स्थान खोज्दै कुद्नु पर्छ । नेपालकै ठुलो च्छोरोल्पा हिमताल फुटेको हल्ला चलेकाले यस अघी २ पटक रात विरात घर छोडेर माथिको पहाडमा चढेका स्थानीयलाई अझै उक्त त्रासले घर गरीरहेको छ । गौरीशंकर हिमाल फेदीको उक्त ताल विस्तार हुने क्रम सगैं अन्यौल पनि बढ्दो छ ।

‘कहिले च्छोरोल्पा त कहिले डुबानको कुराले हाम्रो भविष्य माथि जहिल्यै खेलबाड गरिएको छ’ मन्थली १ गडुबारीका गोरे माझी भन्छन् – जग्गा जमिनको भाउ वृद्धि त्यहि कारणले हुनसकेको छैन । भाउ बढ्न के थाल्छ फेरी डुवानको हल्ला फैलाउछन् । डुबान र बाढीका कारण आकाशे र गडुवारी क्षेत्रको जग्गाको भाउ अन्य वजार क्षेत्रको तुलनामा बढनै सकेन् । ‘यो हल्ला भन्दा पनि यस्तो हुन्छ भनेर टुंगो कुरा गरीदिए हुन्थ्यो ’ माझीले भने – टुंगो कुरा पनि कोहि गर्दैनन्, अनि हल्ला गर्न पनि छोड्दैनन् ।

अहिले हैन, २०५२ साल देखि च्छोरोल्पा हिमताल फुटने हल्ला चलेको । आजनै भोलीनै ताल फुटेर ठुलो क्षति गर्ने हल्ला फैलिएकाले गडुवारी र आकाशे क्षेत्र मात्र हैन तामाकोशीको किनारको दक्षिण भागमा पर्ने रजगाउँ सम्मको माझी गाउँमा त्रास बढ्यो । मानिसले घरमा पालेका कुखुरा बाख्रा बाँकी नराखि काटेर खाए । ‘एक दुई दिन गाउँ भन्दा अलि माझी पाखो भितामा गएर रात कटाए’ माझी भन्छन् – तर त्यसरी कसरी व्यवहार चल्नु ? । जे होला भनेर फेरी आफ्नै घरमा वस्न थालेका हुन । तर कुन बेला फेरी वस्ती छोडेर सुरक्षित स्थानमा भाग्नका लागि राज्यले माईकिङ गर्ने हो ? थाहा छैन् ।

‘अव अतिनै हुन थालेको छ ’ च्छोरोल्पा ताल फुट्छ भन्ने हल्ला गर्दा भर्खर जन्मेकाहरु अहिले लक्का जवान भएका छन् । उनीहरुलाई यो कुराले धेरै गिजोलेको छ । ‘यो वाईहात जस्तो र वाक्क लाग्दो कुरा भईसक्यो ’ मन्थली १ का पर्वत विक भन्छन् – अव त सुन्दा पनि वाक्क लाग्ने भईसक्यो । पत्याउने नपत्याउने भन्दा पनि हल्लै बढी भएको उनले सुनाए ।

सुरुका बर्षहरुमा च्छोरोल्पा हिमताल फुटेमा तामाकोशीको बाढी २० मिटर माथि सम्म आउन सक्ने आकँलन सहित स्थानीयलाई सो स्थानमा गएर बस्नका लागि राज्यले चिनो लगाईदिएको थियो । २०५४ साल तिर केहि मानिस माथिल्लो भागमा गएर केहि दिन बसे पनि । ताल फुट्ने कुरा सेलायो, फेरी फर्के । दुई पटक ताल फुट्यो भनेर रात विरात कुदाकुद पनि भयो । फेरी केहि होईन, हल्ला रहेछ भनेर उनीहरु घर फर्के । यस्तैगरी वितेको अनुभव बुढापाकाहरुलाई छ । पछिल्ला दिनमा भने नदीको तिरमा वसोवास गर्नेहरुका लागि जोखिम छ भन्ने कुराको हेक्का भोटेकोशीको बाढीले गराएको छ । तर रामेछापको मन्थली आसपास वस्नेलाई चाँहि केहि गरी बाढी आईहाल्यो भने धन बगेपनि जन भने सवै सुरक्षित हुन्छन् भन्ने आशा चाँहि छ । किनकी च्छोरोल्पा हिमताल फुटेर बाढीनै आएको खण्डमा पनि रामेछाप सम्म भल आईपुग्न ३।४ घण्टा लाग्छ, त्यसबेला सवै पहाड चढ्न भ्याउछन् ।

गडुवारी र आसपासको क्षेत्रमा करिव १ सय परिवार माझीको वसोवास छ । सदरमुकाम भएकाले अरु जातिका मानिसको बसोवास पनि बाक्लिदै गएको छ । तामाकोशी किनारमा पर्नै गाईखुरा, जखनिटार, भटौली, ओडारे, कुनाउरी, हातिटार, मसानटार, सेलेघाट, रजगाउँ र नबुघाट माझीका वस्ती हुन । कोशी मामा र माझी भान्जा नाता पर्ने विश्वास रहेको यो जातिले हरेक बर्ष उल्लासले कोशीपुजा गर्ने गर्छ । पुजा गर्नुको अर्थ हुन्छ्, नदीले केहि नास नगरोस, कसैको ज्यान नलियोस ।

त्यहि आफ्नो मामा भनाउदो कोशी बाट हुने डुबानको चर्चाले केहि बर्ष देखि माझीलाई आन्दोलित वनाएको छ । ‘नेपाल विद्युत प्राधिकरणले प्राथमिकता सूचिमा राखेको जलासययुक्त सुनकोशी २ जलविद्युत आयोजना वनाउदा तामाकोशी र सुनकोशी किनारका दर्जनौं माझी वस्ती सदाको लागि डुवानमा पर्ने कुराले हाम्रो संभ्यतानै जोखिममा छ’ मन्थली ८ गाईखुराका बालकृष्ण माझी भन्छन – जुन कुराले हाम्रो पहिचान मासिनेछ ।

माझीहरु सुनकोशी २ जलविद्युत आयोजना खारेजीको माग उठाउदै आएका छन् । विद्युत प्राधिकरण , विद्युत विकास विभाग र स्थानीय सरकारलाई माझीहरुले ज्ञापन पत्र दिएर उक्त आयोजना निर्माण गर्न नहुने जनाउ दिएका छन् । ‘हाम्रो माझी जातिको अस्तित्व समाप्त पार्ने आयोजना हामी वनाउन दिदैनौं ’ पूर्व सांसद रीता माझीले भनिन् – करोड र अर्बले हाम्रो संस्कृति खरिद गर्न सकिदैन । माझीहरुको नदी संगको सम्बन्धले पहिचान र संस्कृति झल्किएको छ यदि वस्ती डुवानमा प¥यो भने माझी जातिको वसोवास एकिकृत हुदैन, त्यसबेला संस्कार संस्कृति र पहिचान पनि गुम्छ उनले भनिन् ।

सिन्धुली र रामेछाप जिल्लाको सिमा भएर वग्ने सुनकोशी नदीको कुखुरेटारमा बाँध बाँधेर जलासयमा पानी जमाई जलविद्युत उत्पादन गर्ने उक्त योजना कार्यान्वयनमा आए अनेकौं विकासका संरचना, नयाँ शहर खुर्कोट, रामेछापको जिल्ला सदरमुकाम मन्थली समेत डुबानमा पर्ने छन् । उक्त जलासय तिल्पुङ सम्म पुग्दा तामाकोशी र सुनकाशी किनारका माझी गाउँ पुरै डुवानमा पर्ने अध्ययनले देखाएको छ । तर अहिले उक्त आयोजनाको कार्यान्वयनको कुरा धेरै अघी बढेको अवस्था छैन् । प्राधिकरणले कुनै बेलामा उच्च प्राथमिकतामा राखेको उक्त आयोजना हाल स्थगीत रहेको अवस्था छ ।

राजा मन्दरे माझी विक्रम सम्बत १३८२ सालमा रामेछापको खाँडादेवि गाउँपालिका ४ मा पर्ने रजगाउँमा बसेर राज्य गरेको ईतिहास फेला परेको गाईखुराका बालकृष्ण माझीले वताए । मन्दरे माझीले राज्य गरेको तामाकोशी किनारको वस्तीलाई पछि राजा त्रिभुवन र महेन्द्रको पालामा किपट दिएको उनले वताए ।

‘नदी किनारमा उभिएर आँखाले भ्याउने जति जग्गा भोगचलन गर्नका लागि राजाले माझीलाई किपट दिएको किम्बदन्ति रहेको छ’ बालकृष्ण माझीले भने – तर अहिले ति जग्गा अर्कैका भए । माझीहरु नदी किनारमानै सिमित वनेका छन् । जिल्ला सदरमुकामको प्रभावले माझी वस्तीमा पनि छिटफुट रुपमा अन्य जातिको प्रवेश भएको छ । आधुनिकता सगैं माझीहरु जग्गाजमिन विक्री गर्दै गएका छन् ।

‘हामी विकास विरोधि हैनौं ’ माझी उत्थान संघ रामेछापका  हरी माझीले भने – विकासका समर्थक भन्दैमा जातिय संभ्यतानै सक्ने गरी आयोजना निर्माण गर्न लागे सहेर पनि वस्दैनांै । उनले आयोजनाको उत्पादन क्ष्ँमता घटाउदा बाँधको उचाई कम हुने र त्यसले धेरै वस्ती जोगिन सक्ने तर्फ सुझाएका छन् । माझी जातिको भाषा संस्कृति र पेशाको जगेर्ना गर्नका लागि माझी उत्थान संघ गठन भएको छ । उत्थान संघले माझी जातिको हक हितको साथै जातिय संस्कृति जगेर्ना गर्नका लागि काम गर्दै आएको छ । नदीमा डुङ्गा चलाएर मानिसलाई वारपार गराउने काम माझीहरुको थियो । प्रमुख घाटहरुमा माझीहरुले डुङ्गा तार्थे । विकासको क्रम सगैं झोलुङ्गे पुल वने । डुङ्गा चलाउने पेशा लोप भयो ।

माझीहरुको अर्को पेशा हो माछा मार्ने । जलवायु परिवर्तन र मानिसको नदी माथिको दोहनका कारण माछा पनि लोप भए । त्यसमाथि करेण्ट प्रयोग गरेर माछा मार्नेले नदीमा सहज प्रवेश पाएकाले माझी उक्त पेशाबाट पनि पलायन भए । ‘अव हाम्रो पेशा भनेको ज्याला मजदुरी गर्ने र बैदेशिक रोजगारीमा जाने मात्र भएको छ’ स्थानीय श्याम माझी भन्छन – सेना प्रहरीमा थोरै माझि विकेका छन् । धेरै विदेश तिर पुगे ।

माझी उत्थान संघका अनुसार रामेछाप जिल्लामा मात्र माझीको जनसंख्या करिव ९ हजार हाराहारीमा छ । वसोवसा रहेको स्थानमानै जनगणना भएकाले राष्ट्रिय जनगणनाले भने करिव ५ हजार मात्र माझीको जनसंख्या देखाएको छ ।