रामेछाप । नेकपा एमाले प्रदेश सभा सदस्य रत्न गौतमले आफ्नो जन्मदिनको अवसरमा रामेछापकै दुर्गम गौश्वाराका २ सय ६४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।
गौतमले मंगलबार आफ्नो जन्मदिनको खर्च दुर्गम गाउँको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको न्यानो कपडामा गरेका हुन् । गौतमले दोरम्बा शैलुङ गाउँपालिका–४ खारपानीको खारपानी माविका १ सय ६ जना र शिवलिंगेश्वर मावि ताम्चेतका १ सय ५८ जना विद्यार्थीलाई न्यानो कपडा उपलव्ध गराएर जन्म दिन मनाए । दुवै विद्यालय रहेको स्थान जिल्लाकै धेरै चीसो हुने क्षेत्रमा पर्छ । गौतमले विद्यार्थीलाई जाडोमा लगाउने ट्याक सुट वितरण गरेर सामाजिक पूण्य आर्जन गरेको एमाले रामेछापका नेता काश्मीर घिसिङले जानकारी दिएका छन् । घिसिङको नेतृत्वको टोलीले विद्यालयमा पुगेर कपडा वितरण गरेको थियो ।
गौतमले यस अघि गत पुस ८ गते मन्थलीको मन्थली माविका १२ सय बढी विद्यार्थीलाई पनि ट्याक सुट वितरण गरेका थिए । सो कार्यका लागि उनले करिव १२ लाख खर्चेका थिए ।रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ६ का स्थायी बासिन्दा गौतमले रामेछापबाट बिरामी परी उपचारको लागि काठमाडौँ गएका बिरामीको उपचारका लागि निरन्तर आर्थिक सहयोग गर्दै आउनुभएको छ । त्यस्तै जिल्लामा प्रकोप पर्दा सहयोग गर्नमा उनी सधै अघी सर्दै आएका छन् । गएको बर्षायाममा टोकरपुरको लेखर्कमा पहिरो बाट प्रभावितहरुलाई गौतमले उल्लेख्य सहयोग गरेका थिए ।
