रामेछाप । ब्रिटीस गोर्खा अन्तरगतको कादुरी संस्थाको सहयोगमा दोरम्बा शैलुङ गाउँपालिका १ डडुवाको मझुवा र सल्लेटारका बासिन्दालाई खानेपानी योजना निर्माण भएको छ ।


स्थानीय १ सय ८२ परिवारलाई १ घर १ धारा जडान गरीएको उक्त योजना निर्माणका लागि कादुरी कृषि सहायता संघ ब्रिटिस गोर्खाले सहयोेग गरेको हो । योजना निर्माणका लागि झण्डै २१ लाख ३९ हजार बराबरको स्थानीयले गरेकाे श्रम सहित १ कराेड ८३ लाख ३८ हजार खर्च भएको थियाे । 


डडुवाकै छाङा खोला मुहान गरी ल्याइएको उक्त खानेपानी योजनाको आईतबार कादुरी च्यारिटेवल फाउण्डेसन हङकङका निर्देशक कर्णेल पिटर पाउल डिग्रुटे र कादुरीकै एन्द्रियु मिल्जले उद्घाटन गरेका छन् । कार्यक्रममा कादुरी संस्थाका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङ र वडा अध्यक्ष प्रेम लामाले डडुवाको मझुवा र सल्लेटारमा हुदै आएको खानेपानीको हाहाकार अव हटेको वताए । उनीहरुले खानेपानीको सदुपयोग गर्न पनि आग्रह गरे ।


कादुरीले गत बर्ष पनि डडुवामा एउटा खानेपानी निर्माणमा सहयोग गरेको थियो । डडुवामै झोलुंगे पुल र पात्ले खानेपानी योजनामा अवको केहि समय पछि कादुरीले योजना निर्माणको काम थाल्ने जनाएको छ । वडा अध्यक्ष प्रेम लामाले कादुरीको सहयोगमा निर्माण भएको खानेपानी योजनाले डडुवाको मझुवा र सल्लेटारबासीले बर्षौ देखि भोग्दै आएको खानेपानीको सास्तीलाई सुखमा बदलेको वताएका थिए ।