दोलखा — विद्युत संरचनाको मर्मत गरी पूर्ण क्षमतामा आयोजना संचालन गर्नका लागि छिमेकी जिल्ला दोलखामा संचालित माथिल्लो तामाकोशी जलविद्युत आयोजना दुई दिन वन्द हुने भएको छ ।
नेपालकै लगानीमा निर्मित कुल ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले ३६ घण्टाका लागि विद्युत् उत्पादन बन्द गरेर आयोजनाको मर्मत संभार गर्न थालेको हो । केहि दिन अघी मात्र आयोजनाको एक मात्र बालुवा थिग्याउने पोखरी संचालनमा ल्याएर १ सय मेघावाट विद्युत उत्पादन हुदै आएको थियो ।
अर्धजलाशयमा आधारित विद्युत् केन्द्र भएकाले विहान बेलुका हुने उच्च मागका समयमा पूर्ण क्षमतामा विद्युत् उत्पादनका लागि संरचनाको सरसफाइ गर्न विद्युत् उत्पादन बन्द गरिएको हो । आयोजनाले असोजको बाढीले विद्युत् केन्द्रमा क्षति गरेपछि पुस १० बाट नदीको पानीको प्रवाहको आधारमा हुने रन अफ रिभर आधारमा मात्र विद्युत् उत्पादन गर्दै आएको छ ।
आयोजनाका अनुसार संरचनाको सरसफाइपछि मुख्य माग हुने समय ४ घण्टा पूर्ण क्षमतामा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले बताएका छन् । हाल बाढीले क्षति गरेको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरी मर्मतपछि संचालनमा ल्याएको जलविद्युत् केन्द्रले दायाँतर्फको बालुवा थिग्र्याउने पोखरी पनि संचालनमा ल्याउने तयारी थालिएको उनले बताए ।
