रामेछाप । रस्नालुको विरौटाका किसान मिनवहादुर सुनुवारको यस बर्ष २ गाडि आलु विक्री गर्ने लक्ष्य थियो । तर दुर्भाग्य उनको व्यापार चाहनालाई डढुवा रोगले निराशामा बदल्यो । ‘यो बर्ष आधा गाडि आलु बनाउन पनि धौ धौ भयो ’ सुनुवार भन्छन् – त्यसमा पनि बजार पठाउने र उपभोक्ताले रुचाईहाल्ने आलु फलेन, साना दाना छन् ।
आलु उम्रिएको केहि अवधिमानै असिनाको प्रकोप बेहोरेका किसानहरुले बल्ल तल्ल आलु हुर्काएका थिए । तर उक्त आलुमा लागेको दाना छिप्पिन नपाउदै रोग लागेर बोट म¥यो । ‘सवै डढुवाले स्वाहाः बनायो’ सुनुवार भन्छन् – आलु खेति गरेर कमाउला भन्ने किसानहरुको अहिले पुर्परोमा हात छ ।
रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपालकै ठुलो आलु फार्म हिमालय पोटाटो एण्ड रिसर्च सेन्टर छ । उक्त फार्मका संचालक विनोद बरुवाल पनि यस बर्ष आलुमा अप्रत्याशित रुपमा उत्पादनमा असर पुगेको वताउछन् । ‘मैले रोग लागेको थाहा पाउने वित्तिकै ३÷४ पटक रोकथामको लागि उपचार गरे ’ बरुवाल भन्छन् – त्यैपनि गत बर्षको भन्दा आधा उधि भन्दा आलु फलेन । उक्त फार्मले विउ आलुको लागि खेति गर्दैै आएको छ । बरुवालका अनुसार आलुको व्यवसाायीक रुपमा खेति हुने सवै क्षेत्रमा यस बर्ष डढुवाको प्रकोप छ ।
रामेछापको गोकुलगंगा गाउँपालिकाले आलु लगाउने किसानलाई प्रोत्साहन गर्नका लागि बाँझो जग्गामा आलु लगाउने र बढी मात्रामा आलुको व्यवसायिक उत्पादन गर्ने किसानलाई अनुदान दिने निती अघी सारेकोे थियो । उक्त व्यवस्था गरेपछि गाउँपालिका क्षेत्र बाट मात्र करोडौंको आलु बाह्य बजारमा जाने गरेको थियो ।
रस्नालुको विरौटा टोल सवैभन्दा बढी आलु लगाउने क्षेत्र हो । उक्त टोलका शंखविर तामाङ भन्छन् – आलु धमाधम खन्न लागेका छौं– तर गत बर्षको तुलनामा झण्डै ४० प्रतिशत पनि फलेको छैन् । गोकुलगंगाका रस्नालु, ठोसे र चुचुरे सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्र हुन् । ति सवै वडामा एउटै समस्या देखिएको छ । उत्पादनमा ह्रास ।
राष्ट्रिय कृषि आधुनिकिकरण परियोजनाको आलु जोन लागू भएको क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वर, प्रिती, कुभुकास्थली, वाम्ती र गुम्देल लगाएतका क्षेत्रमा व्यवसायिक आलु खेति गर्ने किसानले पनि उस्तै समस्या बेहोरेका छन् । ‘यो बर्ष अगौटे पानी परेर डढुवा लाग्यो ’ गुप्तेश्वरका किसान हिराबहादुर श्रेष्ठ भन्छन् – पहिलो कुरा त गाउँमा व्यवसायीक आलु उत्पादन गर्ने किसानको संख्या घटेकै थियो, यस बर्ष डढुवाले आलु पनि घटाईदियो ।
श्रेष्ठका अनुसार आलु उत्पादन गर्ने जनशक्तिको अभाव उक्त क्षेत्रमा धेरै हुन थालेको छ । ‘गाउँमा बुढाबुढी मात्र छन्, युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढेको छ,’ श्रेष्ठ भन्छन् – बुढाबुढीको भरमा गरिएको आलु खेतिले यस बर्ष उत्पादन पनि निराशाजनक दियो ।
पश्चिमी रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा पनि डढुवा तिव्र रुपमा फैलिएको थियो । डडुवा, गौश्वारा, दोरम्बा र टोकरपुर क्षेत्रमा केहि बर्ष यताकै आलु उत्पादनमा ठुलो मात्रामा ह्रास आएको छ । डडुवाका किसान दावाशङ्बु शेर्पा भन्छन् – गत बर्षको भन्दा यो बर्ष चार भागको एक भाग मात्र आलु भयो । शेर्पाका अनुसार दाना नछिप्पिदै बोट मरेकोले उत्पादनमा असर परेको हो ।
आलुको उत्पादनमा प्रतिकुल प्रभाव परेको भएपनि उत्पादक किसानले मूल्य भने उच्च पाएका छन् । किसानको बारीमा पुग्ने व्यवसायीले प्रतिकेजि ४० रुपैयाँको भाउ पाएका छन् । त्यस हिसावमा प्रति धार्नी १ सय रुपैयाँ किसानले बारीमानै पाउदैछन् । उत्पादन क्षेत्र भन्दा झण्डै ३ घण्टाको सडक मार्ग बाट जिल्ला सदरमुकाम आउने आलु प्रति धार्नी १ सय ४० रुपैयाँँमा खरिद विक्री हुनेगर्छ ।
जिल्ला कृषि तथा पशुपंक्षि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले भने डढुवा रोगको प्रकोपका कारण जिल्लामा उत्पादनमा कति असर पुगेको भन्ने तथ्याङ्क जिल्लाले संकलन गरेको छैन् । ‘रोग लागेको भन्ने जानकारी त आएको हो, अहिले त खन्ने बेला हो’ दाहालले भने – रोगका कारण उत्पादनमा कति ह्रास आयो भन्ने कुराको हामीलाई एकिन छैन् ।

