रामेछाप । रामेछापको गोकुलगंगा गाँउपालिकाले कर सम्बन्धि सेवा अव पालिकाबाटै संपादन गर्ने भएको छ । सेवाग्राहिहरुलाई हाल भइरहेको सास्ती हटाउनका लागि पालिकाले उक्त सेवा गाउँपालिका कार्यालयबाटै संचालन गर्ने गरी बुधबार संझौता गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई र आन्तरिक राजश्व कार्यालय धुलिखेलका निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाले कर सम्बन्धि सेवा संचालन सम्बन्धि संझौता पत्रमा हस्ताक्षर गरेको गाउँपालिकाले जनाएको छ । केहि दिन भित्रै उक्त सेवा पालिकाबाट संचालनमा आउने छ ।
कर सम्बन्धि सेवा स्थानीय तहबाट प्रदान गर्ने गरी सरकारले जिल्ला सदरमुकाममा रहेका करदाता सेवा कार्यालयहरुलाई खारेज गरेको थियो । उक्त कार्यालय खारेजी पछि हाल सो सेवा कोलेनिका समेत बाट सम्पादन हुदै आएको छ ।
पालिकाबाट सेवा संचालन थालनी भएपछि व्यक्तिगत र व्यवसायिक प्यान जारी गर्ने, मूल्यअभिवृद्धि कर प्रभाण पत्र जारी गर्ने, कर चुक्ता प्रमाण पत्र जारी गर्ने र अन्तशूल्क सम्बन्धि सेवा स्थानीय स्तरमानै उपलव्ध हुनेछ ।
