रामेछाप । चालु आर्थिक बर्ष लागे पछि सरकारलाई कर बुझाउनका  पटक पटक लाईन बस्दा सरकारको कर संकलन गर्ने राजश्व पोर्टल नचलेका कारण नागरिकहरुले हैरानी खेप्नु परेपछि रामेछाप उद्योग वाणिज्य संघले बिहिबार प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ध्याषाकर्षण पत्र बुझाएको छ ।

साउनको दोश्रो साता सम्म पनि सरकारी राजश्व संकलन गर्ने आन्तरिक राजश्व विभागले संचालनमा ल्याएको करदाता पोर्टल नियमित संचालन हुन सकेको छैन् । जतिवेला पनि सर्वर चलेको छैन् भन्दै सर्वसाधारण र व्यवसायीहरुलाई फर्काउनु परेपछि संघले उक्त पोर्टलको नियमित र प्रभावकारी संचालनको माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण बुझाएको हो ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रामेछाप पुगेको व्यवसायीहरुको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरलाई ध्यानाकर्षण पत्र बुझाउदै सर्बर नचल्दा खेप्नु परेको हैरानी बारे जानकारी गराएको थियो ।

आर्थिक बर्ष समाप्ति सगैं सर्वसाधारण तथा व्यवसायीहरुले आयकर, अन्तशूल्क कर तथा अग्रीम कर लगाएतका करहरु सरकारलाई बुझाउनु पर्नेमा साउनको दोश्रो साता वित्न लाग्दा पनि उक्त कर वुझाउन पाएका छैनन् । कर बुझाउनका लागि पैसा बोकेर पटक पटक सम्बन्धित कार्यालयमा पुग्दा सर्बर नचलेको भन्दै सेवाग्राहि फर्कनु परेको गुनासो व्यवसायीहरुले गरेका थिए ।

ध्यानाकर्षण पत्रमा करदाता पोर्टल नियमित संचालन हुनुपर्ने, राजश्व भुक्तानी सगैं करचुक्ता प्रमाण पत्र पाउने व्यवस्था हुनुपर्ने, अन्तशूल्क राजश्व बुझाएकै दिन नविकरण प्रमाण पत्रमा दस्तखत गरिनुपर्ने, ईटिडिएसको भेरिफाई राजश्व बुझाएकै दिन हुनुपर्ने, आयकर छुटका लागि जिल्लामानै निवेदन गर्न सकिने व्यवस्था हुनुपर्ने र मूल्यअभिवृद्धि कर समायोजन जिल्ला तहबाटै गरिनुपर्ने लगाएतका माग समेत व्यवसायीले अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र मार्फत माग राखेका छन् ।