दोलखा । जिल्लाबाट करदाता सेवा कार्यालय हटाएको केहि महिनामानै दोलखाको गौरीशंकर गाउँपालिकाले आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रेको सँगको सहकार्यमा कर सम्बन्धि काम गाउँपालिकाबाटै गर्न थालेको छ ।
नेपाल सरकारले कर सम्बन्धि काम स्थानीय तहलाई जिम्मेवारी दिने गरी नेपालभर रहेका करदाता सेवा कार्यालयहरुलाई हटाएको थियो । स्थानीय तह सक्षम नहुदाँ सम्म सो सम्बन्धि काम सम्बन्धित जिल्लाको कोलेनिकाबाट हुने व्यवस्था गरिएको छ ।
मंंगलबार गौरीशंकर गाउँपालिका र आन्तरिक राजश्व कार्यालय धुलिखेल विच भएको संझौता बमोजिम अव व्यक्तिगत र व्यवसायिक प्यान नम्बर जारी गर्ने, मूल्य अभिबृद्धिकर ( भ्याट ) दर्ताका लागि सिफारिस र प्रमाण पत्र जारी गर्ने, नयाँ अन्तशूल्क ईजाजत पत्र र नविकरणका लागि सिफारिस र प्रमाण पत्र उपलव्ध गराउने र करचुक्ता प्रमाण पत्रका लागि सिफासि गरि प्रमाण पत्र जारी गर्ने उल्लेख छ ।
संझौतामा करदाताको दर्ता सम्बन्धि विवरण संशोधनको अधिकार पनि गाउँपालिकालाईलाई दिइएको छ । गाउँपालिकाले नसक्ने खालको विवरण संशोधनका लागि भने सिफारीस गर्ने उल्लेख छ । दोलखा जिल्लामा रहेका नौ वटा पालिकाहरु मध्ये कर सम्बन्धि सेवा संचालन गर्ने गौरीशंकर गाउँपालिका पहिलो रहेको छ ।
