रामेछाप । स्थापनाकालमा जोडिएका मेसिन औजार अनि प्रविधिको भरमा उत्तरी रामेछापको थोदुङमा रहेको सरकारी चिज उद्योग धरमरको अवस्थामा चलिरहेको छ । नीजि क्षेत्रका अन्य चिज उद्योगहरुले आधुनिक प्रविधि अपनाएर बार्षिक करोडौं रुपैयाँ आर्जन गर्दा थोदुङ चिज उद्योग भने काम चलाउने मेसोमा घिस्रिदै छ ।
राजा महेन्द्रको पालामा २०१५ साल तिर स्वीस सरकारको सहयोगमा उक्त उद्योगको स्थापना भएको हो । पछि स्वीस सरकार दुग्धविकास संस्थानलाई उक्त डेरी हस्तान्तरण गरेर बाहिरीयो । थोदुङ चिज उद्योगको भवन २०७२ सालको विनासकारी भूकम्पले भत्कियो, मेसिन औजारहरु कयौं विग्रीए । त्यसपछि फेरी उठेको छैन् ।
घना जंगलको विचमा सानो टहरामा अहिले उद्योगको स्वरुप मात्र बाँकी छ । उद्योगमा अझै सम्म बिजुली बत्ति पुगेको छैन् । विजुली नहुदाँ उद्योगले विद्युतिय विना दाउरा बालेर उद्योग चलाउछ । उद्योगले व्यवसायीक उत्पादनलाई बढाउनका लागि कुनै योजना पनि बनाउन सकेको छैन् । विजुली जोड्ने, दुध संकलन बढाएर विद्युतिय उपकरण चलाई चिज र मखनको उत्पादन बृद्धि गर्ने लक्ष्य अगालेको छैन् । उद्योगको न कुनै लक्ष्य छ, न प्रगतिको चिन्ता ।

उद्योगमा एक मात्र स्थायी कर्मचारीको रुपमा चिज मेकर प्रेम जिरेल मात्र कार्यरत छन् । दुग्ध विकास संस्थान अन्तरगत रहेको उक्त उद्योगमा बाँकी ७ जना कर्मचारी दैनिक ज्यालादारीमा छन् । उनीहरुको काम दुध र त्यसबाट बनेका सामाग्रि ढुवानी गर्ने र उद्योग संचालन गर्नु हो । उनीहरुले मासिक आधा केजि मखन र दैनिक १ लिटर दुध पाउथे । बर्तमान सरकार आएपछि मखनको अधिकार खोसियो । त्यसै त ज्यालादारीहरुले जंगलमा भालुको डर नमानि दुध, मखन र चिज बनाउनु र बोक्नु पर्ने, त्यहिमाथि पोसिलो मखन खोसिएपछि दैनिक १ लिटर दुधले उनीहरुको मन कुडिँएको छ ।
उच्च पहाडि क्षेत्र रामेछापको थोदुङ आसपास घनाजंगल छ । जहाँ चौरीपालन गर्ने किसानहरु छन् । चौरीपालकहरुलाई निजी डेरीले आकर्षित गर्दै दुध बटुल्छ । नीजि डेरी भन्दा अली टाढा रहेका गोठहरुले मात्र सरकारी डेरीमा दुध दिन्छन् । हाल सरकारी डेरी संग ७ वटा चौरी गोठ जोडिएका छन् । ति गोठमा रहेका चौरीबाट सिजनमा दैनिक सरदर ३ सय लिटर दुध डेरीले पाउछ । उक्त दुधबाट उद्योगले बार्षिक करिव १०–१२ हजार केजि चिज बनाएर विक्री गर्ने गरेको प्रमुख जिरेल बताउछन् ।

थोदुङमा बनेको मखन र चिज स्थानीय आवश्यकताको आधारमा उद्योगमै र स्थानीयमा विक्री नभएको दुग्धविकास संस्थानको काठमाडौं स्थित लैनचौर कार्यालयमा लैजाने गरीएको छ । संस्थानले तोकेको भाउमा चिज र मखन स्थानीय स्तरमा पनि थोरै विक्री हुन्छ । अहिले मखनको प्रतिकेजि १ हजार १ सय ५० रुपैँया र चिजको प्रति केजि १ हजार ९ सय रुपैयाँ दर निर्धारण गरिएको छ ।
डेरीका लेखा हेर्ने कर्मचारी लालवहादुर जिरेलका अनुसार दुध उत्पादन हुने र डेरी उद्योग संचालन हुने मुख्य सिजन भनेको बैशाख देखि कात्र्तिक सम्म मात्र हो । कात्र्तिकपछि चिसोले दुध जम्दैन । चौरीबाट दुध पनि थोरै मात्र उत्पादन हुन्छ । त्यसबेलामा उत्पादन पनि रोकिन्छ ।
उनका अनुसार थोदुङ डेरीले हाल गुम्देलको माथिल्लो क्षेत्र दुविखर्क र बाम्तीको देउरालीमा चिजको शाखा लैजान्छ । चौरी गोठ नजिकै डेरी पुगेर दुध किन्छ, र चिज अनि मखन त्यहि बनाएर उद्योग रहेको थोदुङमा ल्याउछ । उक्त कार्यका लागि दुवै क्षेत्रमा तीन तीन जना कर्मचारी परिचालन गरिएका छन् । उनीहरुलेनै झण्डै ३ घण्टाको बाटोबाट उत्पादित सामाग्रि बोक्ने हो । संस्थानले उद्योगलाई सवारी साधन समेत दिएको छैन् । उद्योगले उत्पादन गरेको चिज पनि बोकाएर सडक सम्म लैजाने र त्याहाँ बाट भाडाको गाडिमा काठमाडौं लाने गरिएको छ । हरेक महिना जस्तो चिज र मखन काठमाडौं पुग्छ ।
सरकारी डेरीले चौरीपालक किसानलाई पहिलेको जस्तो सुविधा पनि दिने गरेको छैन् । पहिले चौरी विकासका लागि धेरै सुविधा थियो , अहिले छैन् । बर्षको एकजोर गमबुट, सानो त्रिपाल र एप्रोन दिन्छ । चौरीगोठ बनाउन सामाग्रि, दुध संकलनका लागि क्यान लगाएतमा सुविधा दिनु पर्ने किसानको माग रहदै आएको छ ।

