रामेछाप । मंगलबार अपरान्ह भएको मौसम बदली तथा हल्का बर्षा पछि रामेछापका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातले हिमाली पाखाहरु सेताम्मे बनेका छन् ।
पश्चिमी रामेछापको पर्यटकिय स्थान शैलुङ क्षेत्रमा बाक्लो हिमपात भएको छ । खोलाखर्क देखि शैलुङ क्षेत्रमा मंगलबार बेलुका देखि हिमपात भएको थियो ।यो बर्ष पहिलो पटक शैलुङमा हिउँ परेको हो ।
शैलुङमा हिउँ देखिएपछि रामेछाप र दोलखाका विभिन्न स्थानबाट शैलुंगमा हिउँ खेल्नका लागि आन्तरिक पर्यटकहरु बुधबार विहानै शैलुङ पुगेका छन् ।त्यसैगरी जिल्लाको ताँमे, देउराली, सेर्दिङ, गौश्वारा र चुचुरेको माथिल्लो क्षेत्रमा हिमपात भएको जनाइएको छ । हिमपात पछि कृषि बालीलाई सहज हुने किसानहरुले जनाएका छन् ।
त्यसैगरी छिमेकी जिल्ला दोलखाको कालिञ्चोक, खावा र खरिढुंगामा हिमपात भएपछि विहानै देखि हिउँमा रमाउनेहरु त्यस क्षेत्रमा पुगेका छन् ।
