सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २८ गते । सर्लाहीको बरहथवा बजारमा रहेका दुुईवटा औषधी पसल बन्द गरिएको छ । औषधि व्यवस्थापन विभाग शाखा कार्यालय वीरगन्जको टोलीले दर्ता नै नभएका एच डी फार्मेसी र कुशवाहा मेडिकल हल बन्द गराएको हो ।
एच डी फार्मेसीले दर्ता प्रमाण(पत्र देखाउन नसकेको र अवैध औषधी समेत बेचेको पाइएपछि पसल सिल गरिएको औषधि व्यवस्थापन विभाग शाखा कार्यालय वीरगन्जका फार्मेसी अधिकृत अरविन्द बनियाँले जानकारी दिए ।
यस्तै कुशवाहा मेडिकल हलले दर्ता प्रमाण(पत्र देखाउन नसकेको र औषधी पसलमा योग्यता नभएका मानिस बसेर औषधी बेचिरहेको पाइएपछि पसल बन्द गराइएको बनियाँले बताए ।
उनका अनुसार दुवै औषधी पसल सञ्चालकलाई तत्काल वीरगन्ज कार्यालयमा आउन भनिएको छ । अनुुगमन टोलीले बरहथवा बजारका पाँचवटा औषधी पसलको अनुुगमन गरेकोमध्ये अन्य तीनवटा पसललाई सामान्य कमिकमजोरी सुधार गर्न निर्देशन दिइएको छ ।