रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्रामिण विद्युत सहकारी संस्थाले अव घरमै बसीबसी विद्युत महशुल भुक्तानी गर्नका लागि ग्राहक सदस्यहरुलाई सुविधा उपलव्ध गराएको छ ।

सहकारी संस्थाले आफ्ना सवै ग्राहक सदस्यहरुको नामावली सफ्टवेयरमा प्रविष्टि गरेर महशुल भुक्तानीका लागि अनलाईन सुविधा प्रदान गरेको हो । अव ग्राहकहरुले ई सेवा बाट , विद्युत सहकारीका कर्मचारी मिटर जाँच गर्न घरमा पुग्दा र वडा केन्द्रहरुमा रहेका काउण्टरमा पुगेर पनि महशुल भुक्तानी गर्न पाउने छन् । यसले ग्राहकलाई वडा केन्द्रमा रहेका भुक्तानी काउण्टर सम्म पुग्नु पर्ने झण्झट अन्त्य गरेको मात्र नभै विलम्ब हुदाँ जरिवाना पर्ने त्रास पनि अन्त्य भएको छ ।

संस्थाका अध्यक्ष नानीबाबु बस्नेतले अनलाईन सेवा संचालन भएपछि विगतमा जस्तो विद्युत महशुल बक्यौता समेत नरहने विश्वास रहेको वताए । विगतमा महसुल बुझाउनका लागि धाउनु पर्ने कारण पनि बेलामा पैसा नतिरेको भए अव त्यो भन्ने छुट ग्राहकहरुलाई नहुने उनको तर्क छ ।

हिमाल पावर लिमिटेडले खिम्ती जलविद्युत आयोजना निर्माणको क्रममा संचालनमा ल्याएको झाँक्रे लघु जलविद्युत आयोजना र हलुवा खोला लघु जलविद्युत आयोजनाको संचालन गर्ने गरी सहकारीलाई हस्तान्तरण गरेपछि हाल उक्त सहकारीलेनै दुवै आयोजनाहरुको संचालन देखि ग्राहक सेवाको काम गर्दै आएको छ ।

खिम्ती जलविद्युत आयोजनाको निर्माण चरणमा प्रभावित क्षेत्रमा पर्ने रामेछापको रस्नालु, बेताली, नामाडि, फर्पु, खिम्ती, फुलासी र गेलुको झण्डै आधा भागमा उक्त सहकारीबाट वितरीत विद्युत उपयोग हुदै आएको छ । त्यसैग्री दोलखाको ठुलो पाताल, हाँवा, च्याँमा र शहरेका बासिन्दालाई पनि विद्युत सेवा सहकारी मार्फतनै उपलव्ध हुदै आएको छ । संस्था मार्फत झण्डै ९ हजार ५ सय ग्राहकहरुको घरमा विद्युत सेवा उपलव्ध हुदै आएको छ । संस्थाले नेपाल विद्युत प्राधिकरण संग संझौता गरी बर्षामा आफ्नो उत्पादन विक्री गर्ने र हिउँद याममा विद्युत प्राधिकरणबाट विद्युत खरिद गरेर ग्राहकहरुलाई सेवा उलव्ध गराउदै आएको छ । संस्था मार्फत विद्युत उपयोग गर्दै आएका ग्राहकहरुले नेपाल विद्युत प्राधिकरणको भन्दा सस्तो दरमा विजुली उपयोग गर्दै आएका छन् । संस्थाले सेवा दिएकाे क्षेत्रमा प्राधिकरणकाे सेवा छैन् । 

विगतमा सहकारी संस्था मार्फत वितरण भएको विद्युत नियमित नभएको, बारम्बार सेवा प्रभावित हुने भन्दै ग्राहकहरुको आक्रोश हुने गरेको थियो । अव त्यो आक्रोश पनि नरहने गरी व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले वताए । यसअघी साँखे–मन्थली ३३ केभि प्रशारण लाईनबाट ट्यापिङ गरेर संचालन हुदै आएको प्रणालीलाई एक साता अघी देखि सव स्टेशनबाटै फिडर अलग गरेर संचालनमा ल्याइएकोले अव बारम्बार झ्याप्प झ्याप्प विजुली निभ्ने समस्या कम भएको बस्नेतले वताएका छन् ।