रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फुटबल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले न्यु स्टार कुनौरीलाई १–० गोलले पराजित गर्दै चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

प्रथम भएको दिपशिखाले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यु स्टार कुनौरीले नगद १ लाख ५१ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा दिपशिखाका सविन खड्का उत्कृष्ट खेलाडी, न्यु स्टारका सुदर्शन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, रिभर साइडका सुदीप मगर सर्वाधिक गोलकर्ता, दिपशिखाका रेम्बो चौधरी उत्कृष्ट गोलरक्षक र दीपेश कार्की उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उत्कृष्ट खेलाडिडरुले जनही ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

असोज २६ गतेदेखि मन्थलीमा सुरु भएको प्रतियोगितामा १० टोली सहभागी थिए। आयोजक क्लबका अध्यक्ष आशिष कार्कीका अनुसार समापन समारोहमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले पुरस्कार वितरण गरेका थिए।