मिथिला जागरण समाचारदाता
जनकपुरधाम, कार्तिक १ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोषको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित निर्माणाधीन भवनको बिहीबार भ्रमण अवलोकन गरेका छन् ।
मुख्यमन्त्री सिँहलाई कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामसरोज यादव, नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरी, श्याम शशिलगायतले स्वागत गरे ।
प्रदेश सरकारको सात करोड रूपैयाँको लगानीमा पाँच कट्ठा क्षेत्रफलभित्र निर्माण भइरहेको कोषको भवनमा साँस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हल लगायत रहनेछन् ।
तत्कालीन जिल्ला विकास समिति धनुषाले गत २०५८ सालमा स्थापना गरेको कोषले दुई वर्षको अन्तरालमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दैआएको छ ।
कोषले गत तीन वर्षयता मासिक कथा एवम् कवि गोष्ठी आयोजना गरिरहेको छ ।
मैथिली भाषा एवम् साहित्यसँग सम्बन्धित एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१–५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ ।
