मिथिला जागरण समाचारदाता
जनकपुरधाम, श्रावण ८ गते । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यताको विषय पनि पेचिलो बनेको छ । यही विषयलाई लिएर पार्टी मुख्यालय सानेपाको मूलगेटमा धनुषाका तीन नेता आमरण अनशनमा छन् । बाराका नेता कार्यकर्ता तेरौ दिनदेखि धर्नामा छन् ।
क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पु¥याएका बेला असन्तुष्टिलाई लिएर धर्ना र अनशन बस्नेको संख्या बढ्दै गएको छ । उनीहरु सबैको माग साझा छ, ‘फर्जी क्रियाशील सदस्यता बदर होस् ।’


महासमीती सदस्य राम पल्टन साह आमरण अनशनमा किन ?


धनुषाका कांग्रेस नेता राम पल्टन साह छैटौ दिनदेखि आमरण अनशनमा छन् । उनीसहित पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्र मोहन यादब र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक लगायतका नेता आमरण अनशनमा बसेका छन् । धनुषामा मापदण्ड विपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै त्यसलाई मान्यता नदिन माग गर्दै उनीहरु अनशन बसेका हुन् ।
राम पल्टन साहले भने, ‘नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान, नियमावली एवं केन्द्रीय परिपत्र विपरीत प्रक्रिया मिचेर सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । यो बदर नभएसम्म हामी अनशन रोक्दैनौं ।’ उनले पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील वितरण गरिएको आरोप लगाए ।


‘जिल्ला पार्टी कार्यालय धनुषामा निरन्तर धर्ना बस्दा पनि सुनुवाइ नभएपछि केन्द्रीय कार्यालयमै अनशन बस्न बाध्य भएका हौं,’ उनले थपे ।
अनशन बसेका नेताहरुका अनुसार धनुषा क्षेत्र नम्बर १ मा धेरै विवाद छ । सबैला नगरपालिकाका १३ वटै वडाका साथै धनुषाधाम नगरपालिकाको ३ र ४ नम्बर वडामा नगर सभापति र प्रदेशसभा संयोजकको दस्तखत बिना नै क्रियाशील सदस्यता वितरण गरिएको अनशनरत नेताहरुको भनाइ छ ।


त्यस्तै धनुषाधाम नगरपालिका १, २, ५, ६, ७ र ९ नम्बर वडामा पनि नगर सभापतिको दस्तखत नभएको, धनुषाधाम नगरपालिका वडा नम्बर ८ मा वडा र नगर सभापतिको दस्तखत नभएको, गणेशमान चारनाथ नगरपालिकाका ११ वडामा प्रदेशसभा संयोजकको दस्तखत नभएको उनीहरुको भनाइ छ ।


यस्तै हंसपुर नगरपालिका–८ मा वडाको निर्णय एवं सभापतिको दस्तखत बिना ५१ जनालाई क्रियाशील सदस्यता वितरण गरेको र वडाको सूचीबाट २० जनालाई हटाएको आन्दोलनरत नेताहरुले बताएका छन् । प्रक्रिया मिचेर बुझाइएको क्रियाशील सदस्यता बदर हुनुपर्ने उनीहरुको माग छ ।
सो आमरण अनशन का केन्दीय वार्ता टोलीमा सह महामन्त्री प्रकाश शरण महत र केन्द्रीय सदस्य राम शरण महत गठन भएको छ । सो बर्ता टोलीले भेटघाट गर्दा ति दुबै बार्ता टोली ले अस्वाशन दिदा म तपाईहरुको माग पुरागर्न लगाउछु भने तर नेता राम पल्टन साह ले भने कि हामी लाई लिखीत सम्झौता नभईकन सम्म हामीहरु अनशन जारीनै राखने छु ।