रामेछाप- सरकारले हिरा तथा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट र सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेजीको माग गर्दै करिब १ महिनादेखि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले सोमवार कर कार्यालयमा धर्ना दिएका छन् ।
नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला कार्यसमिति रामेछापको नेतृत्वमा सोमवार करदाता सेवा कार्यालय मन्थलीमा धर्ना दिएका हुन् ।


कर प्रणालीमा भइरहेको असमानता र करदातामाथि गरिएको दवावको बिरोधमा आन्दोलन गरिएको सुनचाँदी व्यवसायी सङ्घका निवर्तमा केन्द्रीय सदस्य आकाश रिजालले बताए । आन्दोलनरत व्यवसायीहरूले सोमवार रामेछापको करदाता सेवा कार्यालयमा धर्ना दिँदै कर प्रणाली पुनरावलोकन गर्न माग गरेका छन् । उनीहरूले कर कार्यालय अगाडि नाराबाजी गर्दै, मनोमानी कर निर्धारण र अनावश्यक कर दवाव बन्द गर्न सरकारसँग माग गरेका हुन् । कर कार्यालयले साना व्यवसायीलाई पनि ठूला व्यापारी सरह कर तिर्न बाध्य बनाउँदै आएको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायको प्रकृति, आम्दानीको अवस्था र कारोबारको स्तरअनुसार कर निर्धारण हुनुपर्ने उनीहरूको माग छ । “हामी दैनिक थोरै मात्रामा गहना खरिद–बिक्री गर्छौं तर कर कार्यालयले ठूलो कारोबार गर्ने कम्पनीसरह कर तिर्न बाध्य बनाएको छ” आन्दोलनमा सहभागी एक व्यवसायीले भने । नेपाल सरकारले आर्थिक वर्ष ०८२/०८३ को बजेटमा सुनमा लगाएको करमा २ प्रतिशत र हिरापत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार छिमेकी मुलुक भारत जस्तै कायम गर्नुपर्ने, सुनचाँदीको कारोवारको लागि स्पष्ट नीति र नियमावली निर्माण गर्नुपर्ने लगायतका मागहरु व्यवसायीको छ । करदाता सेवा कार्यालय रामेछापका प्रमुखले व्यवसायीहरूको गुनासो सम्बोधन गर्न तयार रहेको बताउँदै कानूनी प्रावधानभित्र रहेर मात्रै कर निर्धारण भएको दाबी गरेका छन् । हामी वार्ताका लागि तयार छाँै । व्यवसायीहरूका जायज मागबारे छलफल गर्न सकिन्छ, उनले भने । आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।


व्यवसायीहरूले सरकारको कर नीतिले व्यवसायमै सङ्कट उत्पन्न गराएको भन्दै करको संरचना पुनरावलोकन नगरे व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने बताएका छन् । करदाताको रूपमा दर्ता भए पनि व्यवसायको प्रकृति नबुझी अत्यधिक करको भार थोपारिएकाले व्यवसाय नै धराशायी बन्ने खतरा बढेको व्यवसायीहरूको गुनासो छ ।