सिगात्से — चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएका छन् । चिनियाँ सञ्चार माध्यमका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ः०५ बजे भूकम्प गएको थियो ।
भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर’ का अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । तर अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले भने उक्त भूकम्प ७.१ म्याग्निच्युडको भएको जनाएको छ ।
भूकम्पको उद्गम बिन्दु जमिनको सतहदेखि १० किलोमिटर तल रहेको थियो । भूकम्प गएको क्षेत्र नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै पर्छ । नेपालको सिमा बाट भूकम्पको केन्द्रबिन्दु ९३ किलोमिटर टाढा पर्छ । भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि महसुस भएको थियो । भूकम्पको धक्का नेपालमा स्थानीय समयानुसार बिहान ६ बजेर ५० मिनेटमा महसुस गरिएको थियो । भूकम्पले पूर्वी नेपालका केही जिल्लाहरूमा समेत सामान्य क्षति पु¥याएको छ ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दु ५ किलोमिटर आसपासमा ७ वटा गाउँ छन् । त्यस्तै, केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा दुई सहर छन् । भूकम्पका कारण सयौं घरहरू भत्किएका भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए ।
भूकम्पका कारण तिब्बतको सिगात्से सहरमा मात्रै हजारभन्दा बढी भवन भत्किएको जनाइएको छ । करिब ८ लाख जनसंख्या रहेको सिगात्से र आसपासका भूकम्प प्रभावित क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छन् ।