सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ४ गते । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारबाट बुधबार हतियारसहित एक युवक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–५, नरेशखोरका २२ वर्षीय सन्जितकुमार महतो हतियारसहित पक्राउ परेका हुन् । महतोको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार महतो मोटरसाइकल चोरी गर्ने घटनामा संलग्न हुँदै आएका थिए । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका पीडितसँग पैसा असुल्ने गरेको उजुरीको आधारमा प्रहरीले विशेष सुराकीको आधारमा महतोलाई बुधबार मध्यान्ह ईश्वरपपुर नगरपालिका–६, बयलवास बजारबाट पक्राउ गरेको हो ।
महतोले मोटरसाइकल चोरी गरी पीडितलाई भारतसम्म बोलाएर २५, ३० हजार रुपियाँ माग्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय श्रेष्ठले बताए ।
महतोलाई नियन्त्रणमा लिएर खानतलासी लिँदा उनले शरीरमा लुकाएर बोकेको पेस्तोल र गोली बरामद भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् । मोटरसाइकल चोरीमा संलग्न गिरोहका अन्य व्यक्तिको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।