– टीकाप्रसाद भट्ट 

नेपाली काँग्रेसको ऐतिहासिक चौंधौं अधिवेशनको क्रममा काँग्रेसको तल्लो निकायबाट क्षेत्रीय प्रतिनिधिमा छनौट भई महाधिवेशन प्रतिनिधि र जिल्ला पदाधिकारीहरु छान्नका लागि मतदान गर्न मन्थली आईपुगेकी एक अगुवा कार्यकर्ता मतदान गर्ने थलोमा पुगेर मतपत्र हातमा हल्लाउदै बाहिर आईन र भनिन् – ख्यै त यहाँ सूर्य चिन्ह छैन् त ।

यो विषयमा गत महाधिवेशन ताका धेरै चर्चा भयो । यो पटक भने मतदान गर्ने दिन आउदै गर्दा फेरी अर्को कुराले चर्चा पाएको छ । एक जना काँग्रेसबाट महाधिवेशन प्रतिनिधि बनेका नेताले अहिले फेरी महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने सुरसार गर्दै गर्दा बाटोमा भेटिएका एमालेका थुपै जना सँग भोट मागेको कुरा हाँसो मजाकको विषय बनाइएको छ ।

काँग्रेसमा क्षेत्रीय प्रनिनिधि भएर आएका सबै मतदातालाई सबैले चिन्दैनन् त्यो कुरा पक्का हो । तर यति धेरै गिज्याउने पात्र पनि महाधिवेशन प्रतिनिधि भईसकेको व्यक्तिले बन्नु हुदैन् भन्ने कुरा पनि उत्तिकै गम्भिर विषय हो । नेकपा एमालेका नेता कार्यकर्तालाई उनीहरुका छरछिमेकी या नातागोता संग मत मागिदिन आग्रह गर्न सकिने कुरा भयो । तर उसै संग मतदानको अधिकार रहेको जस्तो गरी मलाई एक भोट है भनेर नमस्कार गर्दै मत माग्न चाँहि सुहाउने कुरा भएन । यति पनि ध्यान नदिने नेतालाई विगतमा पार्टीको सर्बोच्च स्थानमा जाने गरी छान्ने काँग्रेसले फेरी उसैलाई भोट देला कि नदेला ? भन्ने कुराको अहिले चर्चा छ ।

काँग्रेसले धेरै महाधिवेशनमा उही र उस्तै अनुहारलाई नेता छान्यो । केहि दवावले, केहि प्रभावले र केहि अन्य कुनै तरिकाले । तर हामीले योग्य कार्यकर्ता र सक्षम नेतृत्व छानेनछौं भन्ने कुरा यी माथिका दुई दृष्टान्तबाट पक्कै पनि प्रष्ट हुन्छ । नेता त्यो हो , जसले आफ्ना क्षेत्रीय प्रतिनिधिमा छनौंट भएर आउन सक्ने गाउँका अगुवा कार्यकर्ताहरुलाई काँग्रेसको सिद्धान्त, त्यसका नेताहरु, चुनाव चिन्ह, निर्वाचित हुने क्षेत्र या बर्ग जस्ता आधारभुत कुरा सिकाएको हुनुपर्दछ । तर आफै जान्दैन भने उसले भोलीको काँग्रेस कस्तो बनाउला ? ।

जिवनभर काँग्रेस भएर रुखमै मतदान गर्ने बिचारा मतदाताहरु अझै मतपत्रमा बग्रेल्ति ल्याप्चे लगाईदिएर मत खसालिरहेका छन् । हामीले त्यसो भन्दैगर्दा लाज मान्नु पर्दैन । त्यस्ता मतपत्रहरु हेरेर लजाउने भन्दा बरु हामीले पार्टीको ठेक्का लिएका मसियाहरुलाई धिक्कार्ने त होला नि । उनीहरुले ति अन्यत्र कतै नजाने प्रतिवद्ध र निष्ठावान कार्यकर्ताहरुलाई काँग्रेसको चिन्हमा मतदान गर्ने सम्मको कुरामा सीप सिकाउन सकेनन् । अनि त्यति पनि काम नगर्ने र नसक्नेहरुलाई हामी किन फेरी नेतामा छान्दैछौं ? ।

अझ कतिपय स्थानीय कार्यकर्ताहरुले त काँग्रेसका ठुलै नेतालाई तिमीले कतिपटक रुख चिन्हमा भोट हाल्यौं ? भनेर प्रश्न गर्ने गर्छन् । यस्तो प्रश्न उठने नेताहरु पनि काँग्रेसमा छन् भने त्यो सबै कार्यकर्तालाई सर्म आउने कुरा बाहेक अरु के हुन सक्छ ? । आफु भए , आफ्ना भए, आफुलाई फाईदा पुग्ने भए काँग्रेसलाई भोट हाल्ने नत्र खाँचै सित भन्ने जिउदा लासहरुलाई कतिन्जेल काँग्रेसले काँध गन्हाउने गरी बोकेर फेरी सर्बोच्च निकाय सम्म छान्ने ? अनि काँग्रेस थाहा नहुने, नेता थाहा नहुने, क्षेत्रीय प्रनिनिधि भएर आउने , मतदान गर्ने थलोमा पुगेर सूर्य चिन्ह छान्ने जस्ता सोरसार गरेर मासु भात र पैसाको भाग खान ल्याउने कार्यकर्ताहरु कतिन्जेल पार्टीमा राखिराख्ने ? के यो महाधिवेशनमा पनि त्यस्तै प्रवृतिका क्षेत्रीय प्रनिनिधि आएका छैनन् भन्ने ग्यारेण्टी केसैले देला ? ।

काँग्रेसको यो महाधिवेशनको क्रममा आफ्ना, आफन्त, पैसा खर्च गर्न सक्नेहरु जस्ता सुकै हुन् तिनलाई बैतर्नी तार्ने केहि पण्डितहरु यो पटक पनि धेरै दिन देखि कोठामा बिभिन्न प्यादाहरु चलाउने अभ्यासमा छन् । गुट निर्माण लगभग सकिएको छ । को एटजष्ट भयो र को भएन भन्ने जवाफ कार्यकर्तामा तहमा पुगीसकेको छ । एटजष्ट हुनेहरु अव बैतर्नी तरिन्छ भन्ने कुरामा ढुक्क छन् र केहि दिन दिन शान्त संग निदाएका छन् । अनि एटजष्ट नहुनेहरु गुटको विरोध गर्दै अर्को समूहको खोजिमा भौतारिई रहेका छन् ,उनीहरु निदाउन पाएका छैनन् । यहि अन्यौलमा पटक पटक लोभिपापीहरुको उठवस भएको छ । सहमतिको नाममा कोटा बाँडफाँडका लागि कोहि निम्त्याइएको छ भने , कुरा मिलेन भनेर बाहिरीएको चर्चा पनि चलिरहेका छन् । उम्मेदवारी दर्ता गर्ने दिन नजिकिदै गर्दा धेरैको ति बैतर्नी तार्ने ठेक्का लिने सँग मोह जोडिनु भन्दा भङ्ग हुने अभियानले उचाई लिदों छ ।

केन्द्रमा काँग्रेस नयाँपन दिन खोज्दैछ । नयाँ नेतृत्व, नयाँ विचार, नयाँ उर्जा र नयाँ जोशका साथ काम गर्ने टिम काँग्रेसको बर्तमान नेतृत्वले खोजेको हो । विगतमा पद ओगटेर वस्ने तर पार्टी चलायमान बनाउन नसक्ने पुरानो नेतृत्वका विरुद्ध जेहाद छेडेर विषेश महाधिवेशन मार्फत नेतृत्व लिएका युवाहरुले अहिले बदलिएको काँग्रेस खोजिरहेका छन् । उनीहरुले नीति फेर्ने र नेतृत्व फेर्ने अभियान लिएका छन् । तर हामी भने त्यहि पुरानो ज्वारिकोटलाई राईरन लगाएर हुन्छ कि सुनपानी छरेर हुन्छ, नयाँ बनाउने अभियानमा छौं । मानौं ति पुराना ज्वारिकोटहरु भएनन् भने हाम्रो काँग्रेस पार्टी चल्दैन् । काँग्रेसमा अरु अवसर नपाउनेहरुलाई हामीले देखेकै छैनौं । नेतृत्व लिन सक्ने क्षमताका युवाहरुको उमेर घर्किदो छ । उनीहरुलाई अहिले सम्म ओझेलमा पारिएको छ । अवसर दिइएको छैन् । सामथ्र्यबान युवाहरुलाई पुरानो पुस्ताले गनेकै छैन् । उसलाई नेता मान्नै सकेन ।

यस १५ औं महाधिवेशनमा धेरै जेनजी पुस्ताका युवा नेताहरु गाउँ गाउँ बाट क्षेत्रीय प्रतिनिधिको रुपमा उदायका छन् । तर पुरानाहरुले उनीहरुलाई आफ्नो कोटरीमा ल्याएर उनीहरुमाथिनै हैकम चलाउने प्रपञ्च रचेका छन् । परिवर्तन युवाहरुलाई खेताला बनाएर बुढालाई नेता बनाउनका लागि भएको हैन् । युवाहरुले बेलामानै यो कुरा बुझ्नु पर्नेछ । जेनजीहरुलाई उनीहरुका लागि छुट्याइएको कोटामा सिमित पारेर उनीहरुकै बलमा फेरी अवसर लिने च्याँखे दाउमा लागेका तरमारा हरु देखि युवाहरुले अहिले देखिनै सचेत हुनैपर्दछ ।

मैले २०४८ साल फागुन ७ देखि ९ गते सम्म झापाको कलबढगुढीमा भएको नेपाली काँग्रेसको ८ औं महाधिवेशमा भाग लिएका नेताहरु त्यसको ३५ बर्ष पछि २०८३ मा हुने १५ आंै महाधिवेशनमा पनि आफुलाई प्रतिनिधि नभै नहुने भनेर अडान राखिरहेको देखेको छु । तर उनीहरुले लगातार सो पदमा प्रतिनिधित्व गर्दैगर्दा केन्द्रिय सदस्य हुने योग्यता देखाउन सकेनन् । कुनै विभाग वा क्षेत्रमा नेतृत्व लिन सकेनन् । जिल्लामा काँग्रेस बढाउने भन्दा घटाउदै गए । काँग्रेस बनाउने भन्दा बिगार्दै गए । अनि प्रश्न उठछ – फेरी पटक पटक भोट दिनका लागि मात्र उनीहरु महाधिवेशन प्रतिनिधि बन्न किन मरिहत्ते गरिरहेका छन् ? ।

अहिलेको सवाल पार्टी पुस्तान्तरणको पनि हो । जेनजी बिद्रोह पछि मुलुकले युवाहरुबाट ठुलो भरोसा राखेको छ । गएको निर्वाचनमा हामीले त्यसको छनक पाएका छौं । संसदमा युवाहरुको बाहुल्यता व्यापक रुपमा देखिएको छ । संसदमा जस्तै पार्टीमा सबै युवाहरु पुग्नु पर्छ भन्ने कुरा चाँहि होईन । अनुभव भएका, त्याग र सपमर्ण भएका नेताहरुको पनि पार्टीमा खाँचो रहन्छ । जसले हिजोको दिनमा पार्टीलाई यहाँ सम्म ल्याउनका लागि योगदान गरे, जेलनेल सहे, यातना भोगे तिनीहरु सवैलाई तिरस्कारै गरेर जानुपर्छ भन्ने चाँहि छैन् । तर हिजोको दिनमा योगदान गर्नेले बसीबसी सधैं मिटर ब्याज खाईरहनु पर्छ भन्ने पनि छैन् । अव उनीहरुले मलाई पुग्यो भन्न सक्नुपर्छ । भन्न खोजेको त्यत्ति मात्र हो । योगदान, क्षमता र आवश्यकताका आधारमा विवेक पु¥याएर महाधविशन प्रतिनिधि छान्ने र तिनले अब्बल काँग्रेस बनाउनका लागि केन्द्रीय नेतृत्वको चयन गर्ने कुरा आजको आवश्यकता हो ।