रामेछाप ।  स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनका लागि मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संघ, संगठनहरुले मङ्गलवार मनोनयन दर्ता गराएका   छन् ।

रामेछाप जिल्लामा यो मात्र स्ववियु निर्वाचन हुने क्याम्पस हो । मंगलबार नेपाली काँग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्वियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) एक्ला एक्लै समूह बनाएर उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि सत्तारुढ दल र प्रतिपक्ष दुवैले गठवन्धन गरेर जान खोजे पनि अध्यक्ष पदमा कुरा नमिलेपछि बेग्ला बेग्लै उमेदवारी परेको हो ।


       नेविसंघबाट अध्यक्षमा विपुल रोका, सचिवमा युवराज बुढाथोकी, कोषाध्यक्षमा छाया तामाङ र सदस्यहरूमा कर्ण श्रेष्ठ, अमृता माझी, रोमन श्रेष्ठ, अवीजन श्रेष्ठ र कालिका महतले मनोनयन दर्ता गराएका छन् ।


       अनेरास्ववियुबाट अध्यक्षमा सुशील थापा, सचिवमा मुकेश भण्डारी (डेनिस), कोषाध्यक्षमा मसली तामाङ र सदस्यहरूमा यलिना माझी, स्वस्तिका सुवेदी, तुलसा उप्रेती, जीवन पहरी र मनोज श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

 

यस्तै अखिल (क्रान्तिकारी)बाट अध्यक्षमा अनोज भुजेल, सचिवमा विनीता माझी, कोषाध्यक्षमा राज श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । निर्वाचनबाट कूल १५ सदस्यीय स्ववियुको क्याम्पस समिति बन्नेछ । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ८ पदका लागि निर्वाचन हुनेछ । उपाध्यक्ष र सह–सचिव सहित ७ पद बन्द सूचिमा जाने व्यवस्था रहेको छ । मन्थली क्यम्पसमा ५३१ जना मतदाता रहेका छन् ।