रामेछाप । जिल्ला अस्पतालमा सोमबार संचालन भएको निशूल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ८० जना विरामीले विशेषज्ञ चिकित्सकको सेवा प्राप्त गरेका छन् ।


जिल्ला अस्पतालका प्रमुख डा. केशव श्रेष्ठका अनुसार ईको सहितको मुटु सम्बन्धि रोगका ३० जना, नाक कान घाँटीका विरामी २५ जना र पाठेघर सम्बन्धि समस्याका २५ जना विरामीले विशेषज्ञ सेवा पाएका हुन् ।


श्रेष्ठका अनुसार जिल्ला अस्पतालमा आयोजित उक्त शिविरमा बीर अस्पतालका मुटुरोग विशेषज्ञ डा. कुन्जन शेर्पा र नाक कान घाँटी र पाठेघर सम्बन्धि समस्याका लागि नेपाल मेडिकल कलेजका विशेषज्ञ डा. सुमेध मिश्र र रस्मी बस्ताकोटीले विरामीको परिक्षण र उपचार गरेका थिए । शिविरमा आउनेलाई विमा सुविधाको औषधि समेत निशूल्क वितरण गरिएको थियो ।


अस्पतालले बार्षिक कार्यक्रम अनुसार गएको असोज देखि हरेक महिना जिल्ला अस्पतालमानै काठमाडौ बाट विशेषज्ञ चिकित्सक झिकाएर शिविर संचालन गर्दै आएको छ । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा प्राप्त भएकाले दुर्गम क्षेत्रका बर्षौ देखि रोग पालेर बसेका विरामीले रोग परिक्षण तथा उपचारका लागि काठमाडौं पुग्नुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् ।