रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालले एक बर्षको अवधिमा जिल्लामै सबैभन्दा बढी विरामीहरुको स्वास्थ्य परिक्षण तथा उपचार प्रदान गरेको छ । यति धेरै विरामीकाे उपचार जिल्लाका अन्य स्वास्थ्य संस्थामा भएको छैन् ।
गएको २०८२ सालको एक बर्ष अवधिमा उक्त अस्पतालले ६१ हजार ६ सय ९८ जना विरामीको स्वास्थ्य परिक्षण तथा उपचार गरेको हो । अस्पतालमा पुग्ने आकस्मिक र अन्य विरामीहरुलाई अस्पतालले स्वास्थ्य परिक्षणका साथै प्रयाेगशाला, एक्सरे, भिडियो एक्सरे, आँखा, दाँत, फिजियो थेरापी लगाएतका सेवा समेत प्रवाह गरेको थियो । साे अस्पतालमा केहि जटिल शल्यक्रिया समेत भएका थिए ।
अस्पतालको तथ्यांकमा सबैभन्दा बढी विरामी पहिलो त्रैमासिक अवधिमा अस्पतालमा पुगेका थिए । २०८२ बैशाख देखि असार सम्म अस्पतालमा १६ हजार ७ सय २४ जना विरामी पुगेकोमा ४ सय ५९ जनालाई भर्ना गरेर उपचार गरीएको थियो । त्यसैगरी दोश्रो त्रैमासिक अवधिमा १३ हजार ७ सय २१ जना विरामी उपचारका लागि अस्प्ताल पुगेका थिए । ति मध्ये २ सय ८७ जनालाई भर्ना गरेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशवसिं धामीका अनुसार गत बर्षको तेश्रो त्रैमासिक अवधिमा मन्थली अस्पतालमा पुगेका कुल १५ हजार ३ सय १ जना विरामी मध्ये २ सय ७६ जना लाई अस्पतालले भर्ना गरेर उपचार गरेको थियो भने सोहि बर्षको चौथो त्रैमासिक अवधिमा अस्पताल पुग्ने १५ हजार ९ सय २२ जना विरामी मध्ये ३ सय ७० जनालाई भर्ना गरी उपचार गरेर घर पठाइएको थियो ।
अस्पतालका अनुसार एक बर्षको अवधिमा मन्थली अस्पतालमा आकस्मिक उपचारको सेवा लिने विरामीको संख्या ५ हजार ३ सय १८ रहेको छ । अस्पतालमा पुग्ने विरामीहरुमा सबैभन्दा बढी महिलाहरु रहेका छन् । अस्पतालले रिफरल सेवाका साथै राष्ट्रिय विमा बोर्डमा विमा दावि गर्ने गरी विरामीहरुलाई औषधि वितरण गर्दै आएको छ ।
अस्पताल प्रमुख धामीका अनुसार मन्थली अस्पतालले समय समयमा विशेषज्ञ चिकित्सकहरुको शिविर समेत संचालन गरेर न्यून आर्थिक अवस्था रहेका विरामीहरुलाई स्थानीय स्तरमानै विशेषज्ञ चिकित्सकको सेवा उपलव्ध गराएको छ । अस्पतालले गत आर्थिक बर्षमा भन्दा धेरै आन्तरिक आय समेत गरेको छ । गत बर्ष अस्पतालले ६ करोड भन्दा बढी आर्जन गरेको थियो ।
