रामेछाप ।डेंगी रोग नियन्त्रणका लागि सचेतना तथा लार्भा खोजी–नष्ट गर्न जनचेतना जगाउने उद्देश्यले शुक्रबार मन्थलीमा अभियानको थालनी गरीएको छ ।
डेंगी रोगको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सचेतना तथा लार्भा खोजी–नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो । मन्थली नगरपालिका कार्यालयको समन्वय तथा रामेछाप उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस शाखा रामेछापको सहयोगमा जनस्वास्थ्य कार्यालय रामेछापले सो अभियान सञ्चालन गरेको हो।
सो क्रममा सम्भावित डेंगी फैलाउने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्नुका साथै स्थानीयवासीलाई डेंगी रोगबाट बच्ने उपायहरुका बारे सचेतना र्याली गरीएको थियो । कार्यक्रममा मन्थली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशवसिं धामीले डेंगी रोग, यसको संक्रमण, लक्षण तथा रोकथामका उपायबारे जानकारी गराएका थिए । उनले डेंगी नियन्त्रणका लागि घर, कार्यालय तथा सार्वजनिक स्थान वरपर पानी जम्न नदिने, लामखुट्टेको सम्भावित प्रजननस्थल नष्ट गर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने वताए ।
