रामेछाप । रामेछाप जिल्लालाई पूर्ण खोप सुनिश्चितताको जिल्लाको रुपमा घोषणा गरिएको छ । मंगलबार मन्थलीमा आयोजित कार्यक्रममा रामेछापलाई जिल्ला पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरिएको हो ।

प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट जिल्ला खोप समन्वय समितिलाई उक्त घोषणा सहितको प्रमाण पत्र प्रदान गरिएको थियो । रामेछापमा ३ तहमा पूर्ण खोप सूनिश्चिता भएपछि उक्त घोषणा गरिएको हो । ६४ वटा वडा, ८ वटा पालिका पछि सिंगो जिल्ला पूर्ण खोप सूनिश्चितता भएको हो । यसअघी हरेक वडा र पालिकालाई उक्त प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिकी अध्यक्ष तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले यो अभियान सफल बनाउनका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र सवाजसेविहरुको ठुलो योेगदान रहेको चर्चा गर्दै उक्त कार्यको प्रशंसा गरिन् । विकट स्थानमा बसोवास गर्ने सवै घर परिवारमा पुगेर तोकिएको उमेर समूहका सवै बालबालिकाहरुलाई खोप लगाउने कुरा सामान्य नभएको भन्दै उनले उक्त कार्य जटिल भएपनि भविश्यमा समेत सूनिश्चित र दिगोरुपले संचालन गर्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झा लगाएतले पूर्ण खोप सूनिश्चिता अभियानमा सक्रिय सवै स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको प्रशंसा गरे । सो अवसरमा उक्त अभियानमा योगदान गर्ने पालिका स्तरका स्वास्थ्य शाखाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।