रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको डहु स्थित जोरधारामा निर्माण भएको स्वर्गीय निर्मल लामाको पूर्ण कदको सालिकको पूर्व उपप्रधान मन्त्री तथा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार अनावरण गरेका छन् ।


नेपालको कम्यूनिष्ट आन्दोलनका योद्धा निर्मल लामाको योगदानको कदर गर्दै पूर्व जनमोर्चाहरुको प्रमुख आधारईलाका बेथानको डहुमा निर्मल लामा प्रतिष्ठानले उक्त सालिक निर्माण गरेको हो । सालिक निर्माणका लागि माओवादी नेता पेमा लामाले ९ आना जग्गा निशूल्क उपलव्ध गराएका थिए । सालिक निर्माणका लागि करिव १८ लाख खर्च लागेको जनाइएको छ ।


निर्मललामा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष विरवहादुर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा निर्मल लामा प्रतिष्ठानका अध्यक्ष लिलामणी पोखरेल, माओवादी केन्द्रका बागमति प्रदेश समितिका ईन्चार्ज तथा पूर्व मन्त्री हितमान तामाङ, माओवादी केन्द्र्रका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज श्यामकुमार श्रेष्ठ, केन्द्रीय सदस्य गंगा कार्की र युवराज चौलागाई तथा पूर्व केन्द्रीय सदस्य धावा लामा र विद्यार्थी नेता मनोज केसी लगाएतले स्वर्गीय निर्मल लामाले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना काल देखि व्यवस्था परिवर्तन मार्फत नागरिकको अधिकार प्राप्तिका लागि खेलेको भूमिका र उनको क्रान्तिकारी छविका बारेमा आ आफ्ना धारणा राखेका थिए ।


कार्यक्रमका अधिकांश वक्ताले वर्तमान सरकारले जनताको आधारभूत कुराहरुको सुनिश्चितता गर्न नसक्ने भन्दै सरकार मा वसिरहने नैतिकता समेत गुमाईसकेको वताएका थिए ।