रामेछाप । स्वास्थ्य व्यवस्थापन र उपचारका हिसावले रामेछाप जिल्ला अस्पताल बागमति प्रदेशमा दोश्रो बन्न सफल भएको छ । बागमति प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय हेटौंडाको टोलीले अस्पतालमा संचालन गरिएका क्रियाकलापहरुलाई निर्देशनालयले तयार गरेको मापदण्डका आधारमा मूल्याङ्कनका गर्दा रामेछाप जिल्ला अस्पताल प्रदेशमा दोश्रो हुन सफल भएको हो ।
निर्देशनालयका अनुसार रामेछाप जिल्ला अस्पतालले १ सय पूणाङ्कमा ८९ अंक प्राप्त गरेको थियो । ९३ अंक प्राप्त गरी सिन्धुपाल्चोकको चौतारा अस्पताल पहिलो र ७२ अंक प्राप्त गरी दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल तेश्रो भएका छन् । निर्देशनालयले बागमति प्रदेशमा रहेका विभिन्न अस्पतालमा विज्ञ टोली पठाएर अस्पतालको व्यवस्थापन र उपचार सेवा लगाएतका विषयमा मूल्यांकन गरेको थियो ।
रामेछाप जिल्ला अस्पतालको रुपमा २०५० देखि संचालन भएपनि चिकित्सक, अन्य स्वास्थ्यकर्मी, उपकरण र पूर्वाधारमा पछि पर्दै आएको जिल्ला अस्पताल आर्थिक बर्ष २०८०÷८१ बाट १५ सैयाको स्वीकृति पछि व्यवस्थित रुपमा संचालन हुन थालेको छ ।
अस्पतालमा विशेषज्ञ चिकित्सक देखि अत्याधुनिक अस्पताल भवन, उपकरण र उपचार सेवा प्रारम्भ गरीएकाले विरामीको चाप वृद्धि हुदै गएको छ । गत बर्ष अस्पतालमा झण्डै साढे २० हजार रोगीले स्वास्थ्य उपचार गराएका थिए भने चालु आर्थिक बर्षको यो अवधि सम्म करिव १५ हजार विरामी जिल्ला अस्पतालबाट उपचार पाईसकेका छन् । अस्पतालले केहि समयमानै हाडजोर्नीको शल्यक्रिया सेवा संचालनको तयारी थालेको छ ।
मंगलबार रामेछाप अस्पतालमा आयोजित कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्वास्थ्य निर्देशनालय हेटौंडाका डा. नविन दर्नाल, रामेछाप जिल्ला अस्पताल प्रमुख डा. केशव श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रीनले समेतले अस्पतालको सेवा प्रभावकारी हुदै गएकोमा प्रशन्नता व्यक्त गर्दै हाल सम्म जिल्लामा हुन नसक्ने उपचारको सेवा समेत अव थालनी गरेर सेवा दिनु पर्नेमा जोड दिएका थिए ।
