रामेछाप । रामेछापको मन्थलीमा तीनलाल स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता फागुन ९ देखि १२ गते सम्म मन्थलीमा संचालन हुनेछ ।


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामेछापको आयोजनामा हुने उक्त प्रतियोगितामा बीस बर्ष भन्दा कम उमेरका खेलाडिहरुले भाग लिनेछन् । प्रतियोगितामा विभिन्न जिल्लाका २० भन्दा बढी टिमको सहभागिता हुने दावि आयोजकको छ ।


सोमबार युनियनले पत्रकार भेटघाट गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी दिएको छ । युनियनका अध्यक्ष पुष्कर भट्टराईका अनुसार प्रतियोगिताको अखिलका केन्द्रीय अध्यक्ष समिक बढालले उद्घाटन गर्नेछन् । उक्त कार्यक्रममा एमालेका बागमति प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुंगेलले संवोधन गर्ने कार्यक्रम रहेको उनले वताए ।


प्रतियोगितामा विजयी हुने टिमले नगद ५० हजार, द्धितिय हुने टिमले ३० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाईनलमा पुगेर पराजित हुने टिमलाई दश दश हजारका दरले पुरस्कार दिईने तयारी रहेको छ । प्रतियोगिता अवधि भर करिव २ सय खेलाडिले सहभागिता जनाउने र उक्त खेल विभिन्न माध्यमबाट करिव १ लाखले अवलोकन गर्ने अखिलले जनाएको छ ।


रामेछाप जिल्ला शहिद गंगागाल श्रेष्ठ, कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र मकैको खेति पुस्तक लेखेर साहित्यमा योगदान गरेका साहित्यिक सहिद कृष्णलाल अधिकारीको जिल्ला भएकोले उहाँहरुको योगदानको कदर गर्दै मुलुकभर सन्देश प्रवाह गर्न प्रतियोगिताको आयोजना गर्न लागेको भट्टराईले वताए । भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सागरहरी अधिकारीले समेत प्रतियोगिता संचालनका बारेमा प्रकाश पारेका थिए ।