काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले सोधेको स्पष्टिकरणको विषयले प्रवेश पाएको छ ।
कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने भन्दै केन्द्रीय सदस्य रञ्जित तामाङले समितिको बैठकमा कुरा राखेका छन् । ‘विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाएर तत्काल सडक संघर्षमा जानुपर्छ,’ मंगलबार बैठकमा आफ्ना कुरा राख्ने क्रममा तामाङले भनेका छन् ।
सोमबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई सरकारले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको हस्ताक्षरमा लेखिएको स्पष्टिकरण पत्र घिसिङलाई दिइएको हो । साथै, उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई एकै ठाउँमा राखेर सम्पत्ति विवरण माग्ने कार्य ठिक नभएको उनको भनाइ थियो ।
