काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको कामबाट सन्तुष्ट हुने ठाउँ नभएको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारका ५० भन्दा बढी सचिवलाई शुक्रबार एकै थलोमा बोलाएर उनले सरकारले सोचे जस्तो काम नभएकोमा असन्तुष्टि पोखेका हुन् । प्रधानमन्त्री ओलीले  काममा अप्ठेरो परे सहजीकरण गर्न आफू सदैव तयार रहेको समेत सचिवहरुलाई बताएका थिए् ।
        काम गर्ने सिलसिलामा विभिन्न कानुनी व्यवधान देखाएर सुशासनको काममा गरिरोध सिर्जना गर्न नहुने भन्दै प्रधानन्त्री ओलीले करिव ५ घण्टा सचिवहरुलाई दोहोरो छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा र राजनीतिक सल्लाहकार विष्णु रिमाललाई सँगै थिए ।
       छलफलमा सचिवहरूले राजनीतिक दबाबमा काम गर्दा कानुनी कारबाहीको केन्द्रबिन्दुमा कर्मचारी मात्रै पर्ने गरेको गुनासो गरेका थिए । हरेक निर्णयमा कर्मचारीमाथि मुद्दा चल्ने तर मन्त्रीलगायतका राजनीतिक नेतृत्वलाई केही नहुने गरेको भन्दै सविचहरुले प्रधानमन्त्री सँग असन्तुष्टि पोखेका थिए ।
       मतदाताले रुचाएको पार्टीको घोषणा पत्रमा समावेश विकास निर्माण र सुशासनको काम गर्नका लागि मन्त्रीहरु सिंहदरबार पुग्ने भएकाले उनीहरूले अह्राएको काम गलत हुने सोच राख्न नहुने बताए । त्यस क्रममा उनले भनेका थिए, ‘हामीले पनि राम्रो काम गरौं भन्ने नै सोचेका हुन्छौं । हामी पनि टाउको घरमै राखेर सिंहदरबारमा छिरेका हुँदैनौं ।’ मन्त्रीले असल नियतले अह्राएको कामलाई राजनीतिक हस्तक्षेपका रूपमा नबुझी काम गरिदिन प्रधानमन्त्री ओलीले सविचहरुलाई आग्रह गरेका थिए ।