रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको नेकपा माओवादी केन्द्रले शुक्रबार पश्चिमी रामेछापको बेथानमा २९ औं बेथान विरता दिवसको आयोजना गरेको छ ।
२०५३ साल पुस १९ गते तत्कालिन बिद्रोही नेकपा माओवादीले बेथानको पानीघाटमा रहेको प्रहरी चौकीमा आक्रमण गरी कब्जा गरेको दिनलाई माओवादी केन्द्रले हरेक बर्ष विरता दिवसको रुपमा मनाउदै आएको छ ।
       शुक्रबार पानीघाटको शहिद पार्कमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सूर्यमान दोङले बेथानमा बिर योद्धाहरुले बगाएको रगत बाट प्राप्त भएको गणतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनमा सबैले लाग्नुपर्नेमा जोड दिए ।
       बेथान प्रहरी चौकी आक्रमणमा आफै पनि सहभागि भएका दोङले उक्त भिडन्तका क्रममा भएका घटनाको बारेमा समेत प्रकाश पारेका थिए । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते देखि शुरु गरेको जनयुद्धका क्रममा हतियार मार्फत प्रहरी चौकीमा आक्रमण गरी कब्जा गरेको पहिलो घटना बेथानको रहेको उनले वताए । केहि कटुवा र भरुवा बन्दुक तथा ग्रिनेटले उक्त फौजी आक्रमण सफल भएको र माओवादीले ठुलो परिमाणमा राईफल र गोली बरामद गरेको समेत उनले उल्लेख गरे ।
       पानीघाटमा रहेको प्रहरी चौकी कब्जा गर्ने क्रममा पुस १९ गते राती भएको दोहोरो भिडन्तमा २ जना प्रहरी र ३ जना माओवादीले ज्यान गुमाएका थिए । माओवादीका तत्कालिन नेता तिर्थ गौतम, फत्तवहादुर स्मालि र दिलमाया योन्जनको मृत्यू भएको थियो । भिडन्तमा ज्यान गुमाएका माओवादी नेताहरुको स्मृतिमा पानीघाटमा उनीहरुको सालिक र पार्क निर्माण गरीएको छ ।
       नेकपा माओवादी केन्द्र सुनापति पार्टी कमिटीका अध्यक्ष एवं सुनापतित गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य धावा लामा , प्रदेश सभा सदस्य युवराज चौलागाई, पूर्व जिल्ला अध्यक्ष मैनकुमार मोक्तान, विद्यार्थी नेता मनोज केसी लगाएतले बेथानमा साहदत प्राप्त गरेका शहिदहरुको सालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने करिव ३० जना नेता कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य सूर्यमान दोङले स्वागत गरेका थिए ।