काठमाडौं । नेपाली काँग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमति प्रदेशमा मुख्य मन्त्री पदका लागि काँग्रेस भित्र श्रृजना भएको विवाद विगतमा भएको सहमति कार्यान्वयनमा नआउदा उत्पन्न भएको वताएका छन् ।
नेपाली काँग्रेस रामेछापको सुनापति गाउँपालिका १ वडा समितिले बिहिबार काठमाडौंमा आयोजना गरेको भेटघाट तथा खिर खाने कार्यक्रममा प्रमुख अतिथि रहेका नेता सिंहले विगतको समझदारी अनुसार काम नहुदाँको परिणाम विवाद बाहिर आएको वताए । उनले ओहोदामा पुगेकाले आफ्नो आचरणमा पनि ख्याल गर्नुपर्ने कुरामा जोड दिए । ‘सहमति गरेर सरकारमा गएकाले त्यसको ख्याल गरेको भए यो विवाद बाहिर आउदैनथ्यो ’ उनले भने ।
नेपाली काँग्रेस एक आपसमा लडेका कारण विगतमा पटक पटक हण्डर र पिडा भोग्नु परेको बताउदै नेता सिंहले काँग्रेसलाई एकिकृत बनाउन सबैले सबैको भूमिकाको सम्मान गर्ने र दायित्व स्वीकार गर्ने परम्पराको विकास गर्नुपर्ने वताए । उनले विगतमा काँग्रेसले भोगेको कष्ट र अप्ठेरो अवस्थाको शिक्षा लिएर आईपर्ने चुनौतिहरुको सामना गर्दै देशको आर्थिक विकासमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
मुलुकमा धेरै ठुलो त्याग, बलिदान र संघर्षबाट प्राप्त उपलव्धिहरु २०१७ सालमा राजाले खोसेपछि फेरी नेपाली काँग्रेसका नेताहरुले आफ्नो घरपरिवार , सम्पत्ति यातना, जेल र निर्वासन समेतको सामना गरेर जनताको अधिकार पुर्नप्राप्ति गरेको प्रसंग उल्लेख गर्दै सिंहले भने – मुठ्ठीभरका तत्व भन्दा पनि हामीले आफै ठुलो भनाउदो पञ्चायती व्यवस्था फालेर जनतालाई मालिक बनाउने व्यवस्था फर्काएका हौ । नेपाली काँग्रेसले मुलुकमा व्याप्त हिंसाको अन्त्य, संविधान सभा निर्वाचन र सोहि संविधानसभा मार्फत संविधान जारी गर्ने नेतृत्व लिएको भन्दै नेता सिंहले अहिले पनि देशमा स्थायीत्व कायम गराउनका लागि दोश्रो ठुलो दल एमाले संग मिलेर गठवन्धन सरकार चलाएको वताए । ‘७ बुँदे सहमति गरेर सरकार संचालन नगरेको भए बारम्बार सरकार परिवर्तनको खिचलो सुनिनु पर्ने र त्यसले जनतामा एक प्रकारको नकरात्मक सन्देश जाने अवस्था श्रृजना हुन्थ्यो ’ नेता सिंहले वताए ।
नेका सुनापति १ गुन्सी ईकाईका सभापति टिका गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, नेता भरत चौंलागाई, प्रदेश कार्य समितिका सदस्य अर्जुन केसी,, भिमसेन वस्नेत, महासमिति सदस्य झपडराज भण्डारी, विनीता खड्का, जिल्ला उप सभापति नबराज थोकर, जिल्ला सचिव विनोद कार्की र दिपक खड्का, सह सचिव कमल योञ्जन, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, राष्ट्रिय जनजाति महासंघका अध्यक्ष तथा काँग्रेस नेता गेल्जे शेर्पा, तथा काँग्रेसका विभिन्न तहमा रहेका नेताहरु झनकवहादुर श्रेष्ठ, सिताराम कार्की, कमल विक्रम कार्की, आङदेण्डी शेर्पा र जिवन कार्कीले नेपाली काँग्र्रेस र वर्तमान सन्दर्भमा संगठनमा देखा परेका गुट उपगुटका बारेमा आ आफ्ना धारणा राख्दै काँग्रेसलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा जानलाई नेतृत्वले पहल कदमी लिनु पर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा रामेछाप जिल्लाका ८ वटै स्थानीय तह र काठमाडौंमा पेशा व्यवसाय गरि बसेका नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
