रामेछाप । मन्थली नगरपालिकाले स्थानीय सरकार बनेपछि पहिलो पटक नगरपालिकामा बसेर काम काज गर्दै आएका प्राविधिक कर्मचारीहरुलाई वडा तहमानै हाजिर गर्ने गरी खटाएको छ । 

रामेछाप नगरपालिकामा यसअघीनै यस्तो अभ्यास भएपनि मन्थली नगरपालिकाले यसै महिना देखि प्राविधिकहरुलाई तोकिएको वडा कार्यालयमै हाजिर गर्ने गरी खटाएको हो । नगरपालिकाको कार्यालयमा रहका प्राविधिकहरु अहिले तोकिएको वडा कार्यालयमा पुगीसकेका छन् । यद्यपी सवै वडामा प्राविधिक कर्मचारी नपुग्दा दुई वटा वडामा समेत हेर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ ।

नगरपालिका र प्रदेश तथा संघ सरकार संगका साझेदारी योजनाहरुको प्राविधिक रेखदेख, नाप जाँच लगाएतका कार्य यसअघी मन्थली नगरपालिकाबाट खटाएको अवस्थामा हुदै आएकोमा अव सम्बन्धित वडा बाटै त्यस्ता कार्य हुने जनाइएको छ । प्राविधिकहरुले यसअघी वडा अध्यक्षको प्रत्यक्ष निर्देशनमा भन्दा पनि समन्वयमा काम गर्दै आएका थिए ।

नगरपालिकाको निर्णयले चालु खर्च कम हुनुका साथै योजनाको प्राविधिक रेखदेख कार्य प्रभावकारी र सहज हुने मन्थली नगरपालिकाले जनाएको छ । तर केहि प्राविधिक पक्षहरु प्राविधिकहरुको सामुहिक छलफल र विमर्स बाट हल गर्नुपर्ने खालका हुने भएकाले प्राविधिकहरुले वडा तहबाटै सवै कार्य सम्पादन गर्न कठिनाई हुन सक्ने प्राविधिकहरुले गुनासो गरेका छन् ।