रामेछाप । उत्तरी रामेछापको उमाकुण्ड गाउँपालिका २ वाम्तीका अनन्त खड्का पहिले राजनीतिमा धेरै समय खर्चन्थे । उनलाई राजनीतिमा पद र प्रतिष्ठाको ठुलो सौख थियो । तर अहिले किबि फार्ममा धेरै पसिना खर्चन्छन् । राजनीतिमा पाईने मान भन्दा श्रम गरेर कमाएको नाम र ईज्जतमा उनको मन लोभिदैछ । सगसगैं व्यापार र राजनीतिमा पनि समय दिईरहेकै छन् ।

पहिले बर्षौ सम्म बाँझो बसेको जग्गामा उनले ठुलै क्षेत्रफलमा किबी फार्म बनाएका छन् । उनको फार्म हेर्दा लोभलाग्दो मात्र छैन् बार्षिक लाखौं रुपैयाँ आर्जन गर्ने दिने व्यवसायनै बनेको छ । फार्मको रेखदेख अनि विस्तारका लागि उनले अरु कामको लागि त्यति धेरै समय दिन सकेका छैनन् ।

५ बर्ष अघी सम्म निर्जन पाखो बारी जहाँ सिरु पनि उम्रदैनथ्यो । वाम्तीको सोतर्मु नजिकैको त्यहि ठाउँबाटै बार्षिक लाखौं रुपैयाँ कमाई होला भनेर कमैले सोचेको थिए । तर खड्काको पसिना र पैसाले अव त्यहि पहिले कसैले नपत्याएको निर्जन पाखो बारीबाट बार्षिक धेरैले जिब्रो काड्ने गरी कमाई दिदैछ ।

ड्काको अनन्त एग्रो एण्ड बायो फार्ममा लगाएका सबै विरुवाले उत्पादन दिईसकेका छैनन् । खड्काका अनुसार ५ बर्ष अघी लगाएको एउटै झाङमा १ सय केजि भन्दा बढी किवी फलेको छ । हरेक बर्ष थपेका विरुवाहरु हुर्कने क्रममा छन् । यो बर्ष करिव २० हजार केजि उत्पादन भएको छ । ‘म दुई बर्ष पछि बार्षिक झण्डै ८० देखि ९० हजार केजि किबी उत्पादन हुन्छ भन्नेमा छु ’ खड्काले वताए । फार्ममा हुर्कदै गरेका साना विरुवाहरु २ बर्ष भित्र सवै फलिसक्छन् । साना विरुवाले सुरुका बर्षहरुमा थोरै र पुराना विरुवाले धेरै उत्पादन दिने उनले वताए । प्रति केजिको १ सय देखि ५ सय सम्म पर्ने किबी उक्त परिमाणमा विक्री गर्दा लाखौं रुपैयाँ आर्जन गर्न कठिनाई नहुने उनले वताए ।

खड्काले १ सय ३० रोपनी जग्गामा किबी लगाएका छन् । उक्त जग्गामा १ हजार ८ सय झाँङ किबी लगाउनका लागि उनले झण्डै १ करोडको हाराहारीमा खर्च गरिसकेका छन् । ‘मैले यहाँ राम्रो किवी फल्छ भन्ने कृषि प्राविधिकको कुरा सुनेपछि सकुन्जेल श्रम र लगानी गरेको हुँ’ खड्काले भने । उनको किबी फार्म २ हजार १ सय मिटर उचाईमा रहेको छ । यो उचाईको फार्ममा फलेको हेवार्ड जातको किवी ज्यादै स्वादिलो छ । ‘धेरैले स्वाद मन पराएका छन् विक्रीको लागि कुनै चिन्ता छैन्’ खड्का भन्छन् – पुर्याउन सक्नुपर्छ । हेवार्ड जात किबीमा पनि उनले लगाएको चाँहि अरु भन्दा बढी स्वादिलो रहेको प्राविधिकहरुले वताएका छन् ।

खड्काले ५ बर्ष अघी देखि फार्ममा पसिना खन्याएका भएपनि किबी बिक्री गरेर गत बर्ष देखि मात्र बल्ल पैसा गोजीमा हाल्न लागेका हुन् । गत बर्ष उनले झण्डै ७ हजार केजि किबी बिक्री गरे । बागमति प्रदेश सरकारले निर्माण गरिदिएको १० हजार केजि क्षमताको कोल्ड स्टोरमा राखेको किबी उनले अफ सिजनमा (चैतमा) विक्री गरे । त्यसबेलामा केजिकै ५ सय भाउ पाए । त्यो भाउ भनेको उच्चतम हो । यस बर्ष पुरै १० हजार केजि किवी उक्त स्टोरमा राखेर पछि विक्री गर्ने सोचमा खड्का रहेका छन् । फार्मबाट अधिकांश किवी टिपेर कोल्डस्टोरमा राखेको र केहि बजारमा पनि पठाएको उनले वताए । काठमाडौंमा रहेका उनका झण्डै ५ सय साथिभाई जसले नियमित किवीको माग गरिरहने र अन्यत्र पसलमा पनि माग हुने गरेकाले बजारको कुनै चिन्ता नभएको खड्का वताउछन् । गत बर्ष भारतको बजारमा पनि उनले किबी विक्री गरेका थिए ।

किवी फल बाट वाईन, रक्सी, अचार, जुस, जाम र चकलेट जस्ता सामाग्री बनाउने कुरा उनले सिकेका छन् । केहि सामान उत्पादन पनि गरे । ‘तर उक्त सामाग्रीहरु बनाउनका लागि उद्योग दर्ता गर्नुपर्ने भएकाले व्यवसायीक उत्पादन दिन सकेका छैनन् । अव उद्योगको सोच पनि अघी बढाएको छु ’ खड्काले भने ।