रामेछाप । रामेछापका हाते कागज उद्योगी विश्वराज घिमिरेलाई बागमति प्रदेश सरकारले उत्कृष्ट उद्यमी बर्ष पुरस्कार २०८३ प्रदान गरेको छ । उनी १२ औं उद्योग दिवसको अवसरमा हेटौंडामा बुधबार आयोजित कार्यक्रममा नगद पुरस्कार सहित सम्मानित भएका छन् ।

बागमति प्रदेश सरकारको उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा नवप्रवर्तन उद्यमी सम्मानका लागि रामेछापबाट सहभागि उद्यमी मध्ये घिमिरेलाई ७५ हजार नगद पुरस्कार सहित सम्मानित गरिएको हो । उक्त पुरस्कार पाउने घिमिरे रामेछाप जिल्लाका पहिलो उद्यमी हुन् । उनलाई मुख्यमन्त्री किरण थापामगरले नगद पुरस्कार, प्रमाण पत्र सहित सम्मानित गरेका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका ४ नम्बर वडा बेतालीमा पुष्पाञ्जली नेपाली हाते कागज उद्योगको संचालन गर्दै आएका घिमिरे स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग गर्दै नेपाली हाते कागज उत्पादन तथा उद्यमशीलताको पु¥याएको योगदानको कदरस्वरूप सम्मानित भएको मन्त्रालयले जनाएको छ ।

आफ्नो संस्थाको सदस्य समेत रहेका घिमिरे पुरस्कृत भएकाेमा खुसियाली जनाउने रामेछाप उद्याेग वाणिज्य संघले जिल्लाको उद्यमशीलता प्रवद्र्धनमा थप ऊर्जा मिलेको जनाएको छ । १२ औं उद्योग दिवसका अवसरमा बागमति प्रदेशका विभिन्न १४ जना उद्योगी व्यवसायीहरुलाई बुधबार सम्मानित गरिएको थियो ।