दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा लागेको डडेलोले रोल्वालिङ हिमशृंखला धुवाँले सेताम्मे बनेको छ । गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका– ७ को सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रमा शनिबार देखि लागेको डडेलोका कारण हिमश्रृंखला धुवाँले ढाकिएको हो ।


माघमा हिउँले ढाकिने वन क्षेत्रमा दुई साता अघीदेखिनै डडेलो लाग्न सुरु भएको छ । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने उक्त वनमा लागेको डढेलोको धुवाँले सोमबारसम्म गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला छोपिएको छ । दोलखाको जिल्ला सदरमुकाम चरिकोट बाट हिमाली क्षेत्रमा डडेलोका कारण फैलिएको धुवाँ स्पष्ट देख्न सकिन्छ ।

 

हिमपात हुने मौसममा चिसो छल्न तलतिर झरेका वन्यजन्तु डढेलोको मारमा परेका छन् । तीन दिनदेखि हिमाल नजिकैको खर्कहरूमा डढेलो बढेको गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए । दाहालले डडेलो लागेको क्षेत्रमा नेपालकै दुर्लभ हिउँचितुवा, हाब्रे ( रेडपाण्डा ) र झारल लगाएतको बासस्थान रहेको बताएका छन् । डडेलोले बन्यजन्तुको बासस्थानमा प्रतिकुल प्रभाव परेको छ ।

 

भौगोलिक बिकटताका कारण डडेलो निभाउने प्रयास सफल भएको छैन् । जंगली क्षेत्रमा संरक्षण क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी पुगेको तर उनीहरुको प्रयासले मात्र डडेलो नियन्त्रणमा आउन नसकेको दाहालले वताएका छन् ।