रामेछाप – ठोसेमा पनि फलाम खानी थियो र ? धेरैैले त्यस्तै आश्चर्य मानेर सोध्ने गर्छन । तर सत्य त्यहि हो । उत्तरी रामेछापको ठोसेमा फलाम खानी थियो त्यो पनि नेपालको दोश्रो ठुलो परिणाममा फलाम निकाल्न सकिने क्षमताको । अव त्यो कथा बनेको छ । त्यैपनि चुनाव ताका बेला बेलामा बल्झन्छ गरेको छ ।
काठमाडौं उपत्यका बाट देखिने फुलचोकी पछिको दोश्रो ठुलो फलामखानी रहेको भनिएको ठोसेमा फलामको धाउ निकाल्ने थुप्रै खानी थिए । खानीबाट निकालेको धाउ प्रशोधन गर्ने मेसिन थिए अनि प्रशोधित फलामबाट सामाग्री निर्माण गर्ने उद्योग समेत थियो । अहिले धाउ निकालेका गहिरा प्वालहरु र फलाम पेल्ने केहि बिदेशबाट झिकाइएका मेसिनऔजारका टुक्राहरु बाँकी छन् । जसले त्यहि फलाम खानीको कुरा बल्झाउनका लागि काम गरिरहेका छन् ।
त्यतिवेला धाउ निकाल्न खानीमा पस्नका लागि वनाइएका प्वाल ( सुरुंङ्ग) पुरिदै गएका छन । फलाम निर्माण गर्ने मेसिनका टुक्राहरुका कताकति अवशेष बांकी छन । ठोसेकै फलाम पिटेर स्थानीय मजदुरले कयौं पुल वनाईएका थिए । कतिपयले पुलमा प्रयोग भएका सामान लगेर कोदालो वनाए, फालि पिटे । निकाल्न सकिने जति सवै निकालेर लगे । चुचुरेको सिवालय, ठोसे, खिम्तीखोलाको रस्नालु, दोलखाका छ्योतछ्योत लगाएत विभिन्न स्थानमा ठोसेको फलाम पिटेर वनाइएका झोलुंगे पुलले आवागमन सहज वनाएका थिए । आधुनिक पुल बनेपछि ति नासिए । एकादुई चिनोको रुपमा बाँकी छन् ।

शारदा मावि ठोसेका पूर्व प्रअ भगबान कार्कीले तत्कालिन अवस्थामा फलाम कारखानामा प्रयोग भएका मेसिन औजारका अवषेशलाई संग्रह गर्ने सोच अघी सारेका थिए । बजारमा यत्रतत्र छरिएका विभिन्न मेसिनका पार्टपुर्जालाई संगालेर कार्कीले एकै थलोमा राखेका छन । ‘त्यो ठोसेको पहिचान दिलाउने चिज हो’ कार्की भन्छन – स्थानीय सरकारले संरक्षण गर्नुपर्छ ।
ठोसे फलाम खानी पुनःसंचालनको मुद्धा पञ्चायतकालदेखि हरेक चुनावमा उठिरहेको छ । ‘पञ्यायत, वहुदल, लोकतन्त्र र गणतन्त्रका प्राय सवै चुनावका नारा यहि ठोसेको फलामखानी हुन्थ्यो ’ स्थानीय भुबनवहादुर कार्की भन्छन् – पञ्यायत पछिका यतिका बर्ष सम्म पनि चुनावी मुद्धा फलाम खानी हुदै आएको छ । चुनावमा तातो मसला हुने फलाम खानी चुनाव सकिने वित्तिकै फेरी सेलाउछ । अहिले ठोसे फलाम खानी सेलाएको छ । चर्चा छैन । कहिले कांहि फेरी संचालन हुने रे भन्ने खवर सुन्छु गाउंकै वयोवृद्ध कार्की भन्छन् – तर फेरी सुनसान भईहाल्छ ।
कार्कीका अनुसार राणा प्रधानमन्त्री जुद्धशम्शेर पालासम्म ठोसेमा फलाम कारखाना चलेको थियो । ठोसेको म्याक्चेनमा रहेको उक्त उद्योगमा दैनिक १२ बोर बन्दुक बन्थ्यो । ति बन्दुक दिनको १२ बजे परिक्षणका लागि ठोसेमै पड्काईन्थ्यो । परिक्षण सफल भएका बन्दुक भरियालाई बोकाएर राणा सरकारलाई वुझाउन काठमाण्डौं पठाईन्थ्यो । ठोसेमा बनेको बन्दुक नेपाल र भोटको युद्धमा प्रयोग भएको कुरा बयोबृद्ध कार्की वताउछन ।
साविक ठोसे गाविसका दर्जन भन्दा बढी स्थानमा फलामका खानी छन । दांगरदिंगर, सिंगटी, टगम , आरुबोटे, लाप्चानेडाडां लगाएतका खानीमा ठुलो परिमाणमा फलामको धाउ पाईने स्थानीयको दावि छ । ठोसेको पानीमा फलामको धाउ वग्ने गर्छ । धाउकै कारण ठोसेमा पानी र जमिन भएपछि धान खेति हुदैन । धाउ जमेर धानमा गांज आउन नदिने भएकाले ठोेसेमा धान लगाउने चलन छैन । रामेछाप जिल्लामानै धानको खेति नहुने वडा ठोसे मात्र एक हो ।
फलाम खानी संचालनका लागि खानी तथा भूगर्भ विभागले केहि बर्ष देखि कार्यक्रम संचालन गरेपनि परिक्षणमै सिमित छ । गोकुलगंगा गाउंपालिका २ ठोसेका वडाअध्यक्ष शेखरमान श्रेष्ठका अनुसार चालु आर्थिक बर्षमा पनि करिव ४७ लाख ठोसेको फलाम खानीको डिपिआर निर्माणका लागि केन्द्र सरकारले विनीयोजन गरेको छ । ‘डिपिआर बनाउने काम भइरहेको होला’ श्रेष्ठले भने – स्थानीय सरकारले भने केहि कार्यक्रम अघी सारेको छैन ।
ठोसेको फलाम खानी प्रवेशमार्गको रुपमा विगत केहि बर्ष देखि एउटा सडकको निर्माण भइरहेको छ । टगमबाट आरुवोटे पात्ले सम्मको सडक निर्माणका लागि डिभिजन सडक कार्यालय मार्फत केहि काम भएको छ । सडक चौडा पार्ने र पूर्वाधारको काम हुने गर्छ । खानी संचालनका लागि सडक वनाइरहनु पर्ने अवस्था छैन । ठोसेका हरेक टोलमा सडक निर्माण भइसकेका छन । स्थानीय मानवहादुर कार्की भन्छन – अव मात्रै निर्णयको खांचो छ, अठोटको खांचो छ । तर त्यो अठोट केवल केहिको चुनावी टोठमा मात्र छ, निर्णय र कार्यान्वयनमा छैन् ।
