रामेछाप । मन्थली नगरपालिकाले निर्माण गरेको मन्थली चक्रपथको नाला मर्मत सुधार नहुदाँ नालामा बग्नुपर्ने फोहोर पानी सडकबाट बग्न थालेको छ । नाला सबै बुझीएको छ ।
नगरपालिकाले निर्माण गरेको कारण उक्त नाला सडक विभागले सफाई गर्दैन् । सडक विभागको कार्यक्षेत्रमा पर्ने नालामा सडक हेरालुहरु राखेर सफाई गर्ने गरेपनि नगरपालिकाले हाल सम्म त्यस्तो कुनै संयन्त्र बनाएर नगरका कालाेपत्र भएका सडक र नालाकाे मर्मत सुधार गर्ने गरेको छैन् । दुई बर्षअघी मर्मत गरेको नाला भरिएर सडकबाट फाेहाेर बगेकाे कयाै दिन भईसकेकाे छ ।

देबकोटाचोक देखि जिल्ला प्रहरी कार्यालय तर्फ जाने सडकमा केहि दिन अघी देखि नाला भरिएर फोहोर पानी सडकमा बगेको स्थानीयले गुनासो गरेका छन् । बेला बेलामा सफाई गर्ने नगर्दा नाला भरिएको र बर्षामा थप समस्या भएको स्थानीयको भनाई छ ।
प्रहरी कार्यालय देखि बसपार्क पुग्ने सडकमा पनि प्राय कुनै स्थानमा पनि नाला पानी बग्ने अवस्थामा छैन् । सवै पुरिएको छ । कतै फोहोर जमेर पुरिएको त कतै पहिरो खसेर नाला पुरिएकोले पानी जति सबै सडकमा वग्न थालेको स्थानीयको दावि छ ।
नगरपालिकाले धेरै स्थानमा कालोपत्र सडक निर्माणमा लगानी गरेको भएपनि उक्त सडकको मर्मत सुधारका लागि भने चासो दिएको छैन् । जिल्ला सदरमुकाम भएकाले आगन्तुक देखि स्थानीय बासिन्दाहरुलाई समेत असहज हुने गरी सडक कुरुप राख्न नहुने र बर्षायाममा अझ पानीको निकाशमा जोड दिनुपर्ने कुरा बजारबासीहरु बताउछन् ।

